काठमाडौं । निर्माण व्यवसायी महासंघ को आसन्न नेतृत्व चयन प्रक्रियामा युवा पुस्ताको प्रतिनिधित्व गर्दै निर्माण व्यवसायी निकोलस पाण्डे स्पष्ट परिवर्तनकारी एजेन्डासहित मैदानमा उत्रिएका छन्। उनले निर्माण व्यवसाय क्षेत्रमा वर्षौंदेखि थाँती रहेका समस्याको समाधान, संगठनभित्र नयाँ ऊर्जा संचार तथा व्यवसायीमैत्री कानुनी र नीतिगत सुधारका लागि आक्रामक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पाण्डेले आफ्नो उम्मेदवारीलाई केवल नेतृत्व परिवर्तनको प्रयास नभई निर्माण व्यवसायीहरूको हित, सम्मान र व्यावसायिक सुरक्षालाई केन्द्रमा राखिएको परिणाममुखी अभियानका रूपमा प्रस्तुत गरेका छन्। उनले सार्वजनिक खरिद ऐनमा रहेका व्यवसायी प्रतिकूल प्रावधानहरू खारेज गराउने, भुक्तानी प्रणालीलाई सहज र पारदर्शी बनाउने, ठेक्का व्यवस्थापनमा सुधार ल्याउने तथा निर्माण व्यवसायीहरूको संस्थागत अधिकार सुनिश्चित गर्न पहल गर्ने स्पष्ट अठोट सार्वजनिक गरेका छन्।
निकोलस पाण्डे नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा मुकेश पन्त, महासचिव पदमा धिरेन्द्र दाहाल र कोषाध्यक्ष पदमा उज्ज्वल गौतम उम्मेदवार बनेका छन्। पाण्डेले आफ्नो प्यानललाई ‘परिवर्तनकारी, परिणाममुखी र युवा पुस्ताको प्रतिनिधित्व गर्ने समूह’ का रूपमा चित्रण गर्दै संगठनमा नयाँ पुस्ताको प्रभावकारी उपस्थिति स्थापित गर्ने सन्देश दिएका छन्।
पाण्डे समूहले महासंघभित्र निर्णय प्रक्रियालाई थप गतिशील, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। विशेषगरी युवा व्यवसायीहरूको उल्लेख्य साथ पाउने अपेक्षा गरिएको यो समूहले महासंघलाई समयानुकूल, व्यवसायी–केन्द्रित र जवाफदेही संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ।
अनुभव र युवाबीच नेतृत्वको प्रत्यक्ष प्रतिस्पर्धा
यसपटक महासंघको नेतृत्वका लागि अनुभव र युवा ऊर्जाबीचको प्रत्यक्ष प्रतिस्पर्धा देखिएको विश्लेषण गरिएको छ। वरिष्ठ उपाध्यक्ष पदमा लामो समयदेखि निर्माण व्यवसाय तथा महासंघको गतिविधिमा सक्रिय रहेका एडी लामा एक बलियो, परिपक्व र अनुभवी उम्मेदवारका रूपमा उभिएका छन्। अर्कोतर्फ, निकोलस पाण्डे युवा समूहको प्रतिनिधित्व गर्दै परिवर्तनको वैकल्पिक शक्ति बनेर उदाएका छन्।
पाण्डेलाई युवा व्यवसायीहरूको समर्थन, नयाँ सोच, ऊर्जाशील नेतृत्व र परिवर्तनको सशक्त सन्देशका कारण चुनावमा उल्लेखनीय प्रभाव पार्न सक्ने उम्मेदवारका रूपमा मूल्यांकन गरिएको छ।
महासंघभित्रको यो प्रतिस्पर्धाले नेतृत्व हस्तान्तरणको बहसलाई समेत थप अर्थपूर्ण बनाएको छ। अब प्रश्न उठेको छ—महासंघले परम्परागत अनुभव, स्थायित्व र संस्थागत निरन्तरतालाई प्राथमिकता दिनेछ, कि युवा पुस्ताको ऊर्जा, नवविचार र परिवर्तनको आकांक्षालाई अंगीकार गर्नेछ?
निर्माण व्यवसायी महासंघको भावी नेतृत्वको दिशा तय गर्ने यो जिज्ञासाको उत्तर भने आज हुने मतदानपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया