काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान राष्ट्रका नाममा गरेको सम्बोधनमा अमेरिकाले इरान विरुद्धको युद्ध जितिसकेको दाबी गरेका छन् ।
उनले इरानको सैन्य क्षमता ठूलो रूपमा ध्वस्त भएको बताउँदै आगामी दुईदेखि तीन हप्ताभित्र अझ ठूलो आक्रमण गर्न सकिने चेतावनी पनि दिएका छन् ।
ट्रम्पले आफ्नो सम्बोधनमा भने, “इरानको क्षेप्यास्त्र तथा ड्रोन प्रणाली र नौसेनालाई पूर्ण रूपमा नष्ट गरिएको छ ।
यसको सैन्य शक्ति निकै कमजोर भएको अवस्था छ र हाम्रो सैन्य अपरेशनको मुख्य उद्देश्य पूरा हुन लागेको छ ।”
उनले थप चेतावनी दिँदै भने, “यदि इरानले सम्झौता गर्न तयार भएन भने अमेरिकाले उसलाई ढुङ्गे युगमा फर्काउने छ ।”
यद्यपि, ट्रम्पले इरानमा शासन परिवर्तन भइसकेको र नयाँ नेतृत्व पहिलेको भन्दा कम कट्टरपन्थी भएको पनि दाबी गरे ।
१९ मिनेट लामो उक्त भाषणमा ट्रम्पले कुनै नयाँ घोषणा भने गरेनन् ।
उनले विगत केही समययता निरन्तर गर्दै आएका कुराहरूलाई नै दोहोर्याए ।
युद्धको लागत र अवधिप्रति चिन्तित अमेरिकी जनतालाई सम्बोधन गर्दै उनले विगतका युद्धहरूसँग तुलना गरे ।
उनले भने, “इराक युद्ध ८ वर्ष र भियतनाम युद्ध १९ वर्ष चलेको थियो भने इरान युद्ध अहिले मात्र दोस्रो महिनामा छ ।”
एक दिन अघि नै सम्झौताको आवश्यकता नभएको बताएका ट्रम्पले यस पटक भने इरानसँग युद्ध जितिसकेको ले वार्ता गरेर युद्ध अन्त्य गर्न सकिने संकेत दिए ।
हर्मुजको जलडमरूमध्यको संकटबारे बोल्दै उनले अन्य देशहरूले यसको सुरक्षा जिम्मेवारी लिनुपर्ने बताए ।
तर, यसअघि उनले हर्मुजको जलडमरूम नखोलिकन कुनै सम्झौता नहुने अडान राखेका थिए ।
ट्रम्पको यो सम्बोधनले अन्तर्राष्ट्रिय रूपमा ठूलो चर्चा पाएको छ ।
इरानसँगको द्वन्द्व कसरी अगाडि बढ्छ भन्ने विषयमा विश्वव्यापी चासो बढेको छ ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया