सुर्खेत। सुर्खेतकी १६ वर्षीया इनिशा बिकको शव २७ दिनपछि परिवारले बुझ्ने भएको छ ।

आज उनको दाहसंस्कार गरिने भएको छ ।

advertisement

गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी इनिशाको शव सामूहिक बलात्कार र हत्या भएको भन्दै परिवारले सुरुमा बुझ्न अस्वीकार गरेका थिए ।

घटनामा संलग्न चारै आरोपितलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि मात्र परिवार शव बुझ्न सहमत भएका हुन् ।

इनिशाको २७ दिनपछि आज भेरी नदीको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

दुई साता लामो अनुसन्धानपछि प्रहरीले गत साता सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

आइतबार सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

मंगलबार उक्त मुद्दामा थुनछेक बहस भएको थियो ।

सुर्खेत जिल्ला अदालतको बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने निर्णय गरिएको हो ।

अदालतको आदेशअनुसार आरोपित चारै जनालाई बालसुधार गृहमा पठाइने भएको छ ।

सोमबारदेखि बाल इजलासमा सुनुवाई भइरहेको मुद्दामा मंगलबार थुनछेक बहसपछि यो आदेश जारी भएको हो ।

इनिशाको मृत्युपछि वीरेन्द्रनगरमा पीडित पक्ष र आरोपित पक्षबीच पटक-पटक प्रदर्शन हुँदै आएका थिए ।

शव बुझ्ने र दाहसंस्कार गर्ने निर्णयसँगै परिवारले न्यायका लागि निरन्तर लड्ने बताएका छन् ।

यो घटनाले सुर्खेतमा ठूलो आक्रोश र चासो उत्पन्न गरेको थियो ।

अब अदालतले मुद्दालाई कसरी अघि बढाउँछ भन्ने विषयमा स्थानीयवासीको ध्यान केन्द्रित भएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com