काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्ने अवधि दोस्रोपटक थप्ने तयारी गरिएको छ।
गत चैत १४ गते पक्राउ परेका दुवै जनालाई प्रहरीले आइतबार पहिलोपटक पाँच दिनको म्याद थप गरेको थियो। उक्त म्याद चैत १९ गते सकिने भएपछि पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार दुवैजनाको म्याद आजै थप्ने तयारी गरिएको छ। लेखकलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइनेछ भने ओलीलाई स्वास्थ्य अवस्थाका कारण भर्चुअल माध्यमबाट उपस्थित गराउने योजना रहेको प्रहरीले जनाएको छ।
मृगौलासम्बन्धी समस्याका कारण ओली हाल महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन्। यसअघि पहिलोपटक म्याद थप्दा पनि लेखक अदालतमा प्रत्यक्ष उपस्थित भएका थिए भने ओली भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
हाल लेखक प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा राखिएका छन्। उनको बयान बुधबारदेखि सुरु भइसकेको छ भने ओलीको बयान लिन बाँकी रहेको प्रहरीले जनाएको छ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शन दबाउन बल प्रयोग गर्न निर्देशन दिएको आरोपमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेपछि दुवै जना पक्राउ परेका हुन्।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया