काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा आफ्नो पहिलो सम्बोधन गर्दै देशको स्वाधीनताका लागि एमसीसी खारेज गर्नुपर्ने माग गरेका छन् ।
उनले सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्ने जनताको माग रहेको बताए । साम्पाङले प्रत्यक्ष कार्यकारी चुन्ने व्यवस्थातर्फ सरकारको नीति तथा कार्यक्रम अघि सार्नुपर्ने पनि जोड दिए ।
सम्बोधनका क्रममा हर्क साम्पाङले जेनजी आन्दोलनमा डिस्कर्ड चलाएर स्कुल ड्रेसमा विद्यार्थीलाई आन्दोलनमा बोलाउने र भदौ २४ गते सर्वोच्च अदालत तथा संसद् भवनमा आगजनी गर्नेहरूलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरे ।
उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन आयोग गठन गरेर मन्त्री तथा सांसदहरूको छानबिन गर्नुपर्ने बताउँदै त्यो प्रक्रिया आफैंबाट सुरु गर्नुपर्ने धारणा राखे ।
उनले शिक्षालाई उत्पादन र आविष्कारसँग जोड्नुपर्ने बताउँदै “हप्तामा ३ दिन मात्र पढ्दा हुन्छ, चार दिन उत्पादनमा जोड्नुपर्छ” भने ।
कृषिमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै साम्पाङले एक पालिकामा एक उद्योग र रोजगार सिर्जना गर्ने नीति ल्याउनुपर्ने, बन्द उद्योगहरू सञ्चालन गर्नुपर्ने र प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न सहज कानुन बनाउनुपर्ने बताए ।
सुशासन, शान्ति सुव्यवस्था, खानेपानी तथा अन्य आधारभूत समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
उनले हतारमा सरकारका निर्णय कार्यान्वयन गर्न नहुने र सबैसँग सल्लाह गरेर मात्र अघि बढ्नुपर्ने सुझाव दिए ।
बृद्धभत्ता जस्ता विषयमा फेरबदल गर्नुअघि पुनर्विचार गर्नुपर्ने, सुकुम्बासी तथा भूमिहीनको समस्या पहिचान गर्नुपर्ने, उपत्यकाबाहिर पनि नेपाल छ भन्ने कुरामा ध्यान दिनुपर्ने र भूपू गोरखाको पेन्सनबारे उपयुक्त नीति बनाउनुपर्ने लगायतका विभिन्न सुझाव उनले सरकारलाई दिए ।
हर्क साम्पाङको सम्बोधनले संसद्मा राष्ट्रिय स्वाधीनता (एमसीसी खारेज), सीमा सुरक्षा, शिक्षा सुधार, सुशासन र जनताका आधारभूत समस्या सम्बोधन गर्नुपर्ने विषयलाई जोड दिएको छ ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया