काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन दमनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिएको छ।
बुधबार साँझ अनुसन्धान अधिकृत तथा सरकारी वकिलको उपस्थितिमा उनको बयान लिइएको हो। सो क्रममा बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका बेला किशोरहरूको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा विस्तृत सोधपुछ गरिएको थियो।
बयानका क्रममा लेखकले आफूले गोली चलाउन आदेश दिएको आरोप पूर्ण रूपमा अस्वीकार गरेका छन्। गौरीबहादुर कार्की नेतृत्वको आयोगले भने लेखकसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनलाई चैत १४ गते पक्राउ गरिएको हो।
लेखकले भिड नियन्त्रण आफ्नो कार्यक्षेत्रमा नपर्ने दाबी गर्दै उक्त जिम्मेवारी जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कार्यान्वयन हुने बताएका छन्। ‘कानुनबमोजिम काम गर्नुपर्छ भन्ने निर्देशन दिएको हुन सक्छु,’ उनले बयानमा उल्लेख गरेका छन्।
उनका अनुसार दंगा वा हुलदंगा नियन्त्रणका क्रममा बल प्रयोग गर्ने वा नगर्ने निर्णय स्थलगत परिस्थितिअनुसार खटिएका सुरक्षा अधिकारीले लिने गर्छन्। गृहमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउन आदेश दिने न कानुनी व्यवस्था छ, न व्यवहारिक अभ्यास नै रहेको उनले स्पष्ट पारेका छन्।
आईजीपीमार्फत आफूले गोली चलाउन आदेश दिएको भन्ने आरोप पनि लेखकले खण्डन गरेका छन्। उनले गृहमन्त्रीको भूमिका नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरणमा सीमित हुने बताएका छन्।
शान्ति सुरक्षाको जिम्मेवारी गृह मन्त्रालयअन्तर्गतका निकायमार्फत कार्यान्वयन हुने उल्लेख गर्दै लेखकले गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई बल प्रयोग गर्दा हताहती नहोस्, समन्वय कायम रहोस् र कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने निर्देशन दिएको दाबी गरेका छन्।
एक अनुसन्धान अधिकृतका अनुसार लेखकले बयानमा भनेका छन्, ‘घुसपैठप्रति सतर्क रहन र संसद् भवनको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको थिएँ। तर अन्तिम बल प्रयोग अर्थात् गोली चलाउने आदेश मैले दिएको थिइनँ।’
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया