काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत वर्षौँदेखि अलपत्र रहेका १० वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले रद्द गरेको छ। समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँग गरिएको सम्झौता अन्त्य गरिएको सम्बन्धमा १५ दिने सार्वजनिक सूचना जारी गरिएको सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए।

कालीकोट जिल्लाको दहीखोला–मान्म–नाग्म–जुम्ला खण्डमा सडक सुरक्षा व्यवस्थापन, कल्भर्ट निर्माण, संरक्षण तथा विशेष मर्मत कार्यका लागि आर्थिक वर्ष २०७८/७९ मा धुर्वा निर्माण सेवा, सुर्खेतसँग सम्झौता गरिएको थियो। तोकिएको समयमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिए पनि अन्ततः काम पूरा नभएकाले ठेक्का तोडिएको हो।

advertisement

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा कालीकोटको बालीघाट क्षेत्रको विशेष मर्मत तथा खुल्लालेदेखि घोडेङ्गासम्मको आवधिक मर्मत कार्यका लागि कृष्ण निर्माण सेवासँग भएको सम्झौता पनि समयमै काम नगरेका कारण रद्द गरिएको छ।

उही वर्ष नाग्म–गमगडी सडकखण्ड अन्तर्गत मुगुको ताल्चादेखि रारासम्मको मर्मत कार्यका लागि अविनास निर्माण सेवासँग सम्झौता गरिएको थियो। साथै, रारा क्षेत्रको सडक सुधार, फराकिलो बनाउने तथा फुटपाथ निर्माणका कामका लागि आर्थिक वर्ष २०८०/८१ मा विनाम्रा निर्माण सेवा, सुर्खेतसँग सम्झौता भएको थियो। तर बारम्बार ताकेता गर्दा पनि काम अघि नबढेपछि ती ठेक्का पनि रद्द गर्ने प्रक्रिया अघि बढाइएको होयसअघि पनि कर्णाली राजमार्ग अन्तर्गतका चारवटा रुग्ण ठेक्का—कालीकोटका दुई, मुगुको नाग्म–गमगडी खण्डको एक र जुम्ला–डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकको एक—रद्द गरिसकिएको निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए।

निर्माण व्यवसायीहरूले पटक–पटकको आग्रह र निर्देशन बेवास्ता गर्दै सम्झौताअनुसार दायित्व पूरा नगरेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(२) अनुसार ठेक्का अन्त्य गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com