काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका छन्। घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएका छन्। सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिएका छन्।
गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा खटिएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल गएका थिए। डा. सुनिल शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था बुझेका थिए। अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताए।
शर्माले भने, “तपाईं आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु।”
गृहमन्त्री गुरुङले जेनजीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिए। मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुगेका थिए। भेट्नेबित्तिकै उनले भने, “तपाईंले घाइतेहरूलाई मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ। यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैं सम्मान छ।” मन्त्री गुरुङले अंकमाल गर्दै सुनिल शर्मालाई धन्यवाद व्यक्त गरे ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया