काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको विवादित अभिव्यक्तिप्रति कडा टिप्पणी गर्दै दोष जति अरूलाई मात्र देखाउने राजनीति अब पुरानो भइसकेको बताएका छन् ।
पाण्डेले फेसबुकमा लेख्दै भनेका छन्, “हिजो संसदमा ‘षड्यन्त्र’का लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो – सबै दोष अरूलाई ! हामी पनि दोषी छौं – यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?”
उनले ‘घेराबन्दी’मा पर्यौं भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भइसकेको टिप्पणी गरेका छन् । पाण्डेले थप लेखेका छन्, “अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ-आफ्ना एजेन्डा मात्र हुन् ।”
नेता पाण्डेले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्न आग्रह गरेका छन् । उनले २३/२४ गतेका घटनाको छानबिन हुनुपर्नेमा जोड दिँदै भने, “तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन ।”
बादलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को निर्वाचनको परिणामलाई षड्यन्त्र र विभिन्न निकायको मिलेमतोमा आएको भन्दै अभिव्यक्ति दिएका थिए । पाण्डेको यो टिप्पणी त्यही अभिव्यक्तिलाई लक्षित गर्दै आएको स्पष्ट छ ।
नेता सुरेन्द्र पाण्डेको भनाइले एमाले पार्टीभित्रै भदौका घटना र हालको राजनीतिक बहसमा फरक दृष्टिकोण देखिएको छ ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया