काठमाडौं । प्रहरीले नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले बयान लिएका छन्। जेनजी आन्दोलन दमनसम्बन्धी आरोपमा पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा प्रहरी निगरानीमा उपचाररत छन्। अनुसन्धान टोली र सरकारी वकिलले अस्पतालमै पुगेर उनीसँग बयान लिएको हो।
ओलीसँगको बयान प्रक्रिया सम्पन्न भइसकेको छ। अनुसन्धान अधिकृतहरूले उनलाई ३५ भन्दा बढी प्रश्न सोधेका थिए। बयानका क्रममा उनले भदौ २३ मा काठमाडौँको बानेश्वरमा भएको घटनामा लेथल हतियार प्रयोग गरी गोली चलाउन आफूले आदेश दिएको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार त्यस्तो निर्णय जिल्ला तहबाट हुने विषय हो।
जेनजी आन्दोलनअघि भदौ २२ को राति सुरक्षा निकायसँग छलफल भएको उल्लेख गर्दै ओलीले आफूलाई करिब ६–७ हजार प्रदर्शनकारी भेला हुने र आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिइएको बताएका छन्। उनले सुरक्षा निकायलाई शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएको दाबी गरेका छन्।
बयानमा उनले हुलदङ्गा नियन्त्रणका क्रममा मानवीय क्षति हुन नदिन सरकार गम्भीर रहेको र आफूले पनि त्यही अनुसार निर्देशन दिएको उल्लेख गरेका छन्। बल प्रयोग गर्ने निर्णय प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र नपर्ने भन्दै उनले सो विषय आफूअन्तर्गत नआउने जिकिर गरेका छन्।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार ओलीसँगको बयान बिहीबार राति करिब १२ बजे सम्पन्न भएको हो।
ओलीले प्रधानमन्त्रीलाई प्रहरीलाई गोली चलाउन आदेश दिने अधिकार नै नहुने दाबी गर्दै त्यस्तो आदेश आफूबाट नदिइएको स्पष्ट पारेका छन्।
भदौ २३ मा बानेश्वरमा भएको घटनापछि बसेको मन्त्रिपरिषद् बैठकले निष्पक्ष छानबिनका लागि आयोग गठन गर्ने, घाइतेको उपचार गर्ने तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको पनि उनले बयानमा उल्लेख गरेका छन्। साथै, सरकारले सकेसम्म न्यून बल प्रयोग गर्ने र मानवीय क्षति हुन नदिने नीति लिएको तथा सेना परिचालन गर्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारेका छन्।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया