काभ्रेपलाञ्चोक। बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ ।
हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अबरुद्ध भैसक्यो ।
डेढ वर्षअघिसम्म मध्यपहाडी क्षेत्रको यात्रालाई सहजता दिलाएको उक्त राजमार्ग दुई वर्षमा ‘ठीकठाक’ पार्ने गरी स्थायी पुनर्निर्माण भने सुरु भैसकेको छ ।
सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्ग बिपी राजमार्ग ।
विशेषगरी यस राजमार्गको काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको विभिन्न क्षेत्रस्थित सडकखण्डमा यस र अघिल्लो वर्षको असोजका बाढीपहिरोले ‘थिलथिलो’ नै बनाएको छ ।
यस राजमार्गको मध्यक्षेत्र अर्थात काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत् तथा बगाएपछि यात्रा जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको छ ।
उक्त राजमार्गको सडक–सम्पर्क बिच्छेदसमेत भएको हो ।
वर्षायाममा केही भागमा क्षति पु¥याएपनि दुई वटाका असोजका अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको थियो ।
यसवर्ष पनि गत असोजमै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसा नै मेटिनेगरी, पैदलसमेत हिड्ने नसक्ने गरी बाढीपहिरोले तहसनहस बनाइदिएको थियो ।
गत साल असोजमा क्षत्विक्षत् राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिएपनि स्थायी बनाउने प्रक्रियामै रहेका बेला राजमार्ग पुनः थिलथिलो बन्नुप¥यो ।
डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार करिब चार किलोमिटर सडक नै बगाएको छ ।
यसका कारण खोलाबाटै डाइभर्सन बनाएर सवारी स्ञ्चालनमा ल्याउनुप¥यो ।
करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोड्को छ ।
यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौँ घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।
गत वर्षको असोज १०, ११ र १२ मा परेको अविरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो ।
त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिनपछि गत असोज १७ र १८ मा वर्षाले पुनः क्षति गराएको हो ।
सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ ।
तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढीपहिरोले थप क्षतिग्रस्त बनाएको हो ।
राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् ।
वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ ।
यस्तै गत सालको बर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पु¥याएको थियो ।
विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ ।
त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो ।
गतसाल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्णरुपमा बगाएका थियो ।
गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो ।
त्यसलाई पनि अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको थियो ।
यसैबीच पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रुपमा पुनःनिर्माणकार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनःनिर्माणकार्यलाई तीव्रता दिइएको हो ।
राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माण कार्यलाई तीब्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो ।
उहाँका अनुसार राजमार्गमा भैरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिनेछ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ ।
विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस बर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि पक्रिया पु¥याएर स्थायी पुनःनिर्माण थालिएको हो ।
क्षग्रिस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गर्ने बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलब २ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिनुभयो ।
क्षति पु¥याएको विभिन्न स्थानमा ‘आरसीसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट पर्खाल लगाउन तथा चारसयबेँशी र भकुण्डेबेँशीमा पनि ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको छ ।
यस्तै डालाबेँशी, मङ्गलटार खण्ड, चारसयबेँशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको योगेशले बताउनुभयो ।
उहाँका अनुसार गतवर्ष र यसवर्षको बाढीले सडक पूर्ण क्षति भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।
राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ ।
कार्यालयका अनुसार क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणको लागि तीन खण्डमा एकैसाथ काम सुरु गरिएको हो ।
यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्रे गरी कामलाई तीव्रता दिइएको योगेशले बताउनुभयो ।
बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो ।
अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो ।
“पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाईसमेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भन्नुभयो ।
उहाँका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ ।
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो ।
यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ८ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो ।
नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।
क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले रु २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।
कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघिनै ठेक्का लगाइसकेको थियो ।
क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले रु ८ अर्ब ५० करोड स्रोत सहमति दिएको हो ।
यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।
बिस्तृत अनुगमन निरीक्षण गरी पुनः अस्थायी बनाउने काम थालिएको कार्यालयको इन्जिनियर विन्दु अधिकारीले जानकारी दिनुभयो ।
गत असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पु¥याएको कार्यालयले जनाएको छ ।
इन्जिनियर अधिकारीका अनुसार बीपी राजमार्गअन्तर्गत उक्त सडकखण्डको १७ स्थानमा रोशी खोलाले क्षति पु¥याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ ।
यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गरिने अधिकारीको भनाई छ ।
कार्यालयका अनुसार हाल एक सय १० किलोमिटर सडकमा यातायात पुनः सञ्चालनमा रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ ।
कार्यालयले गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो ।
त्यतिबेलाको बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो ।
यस्तै क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहजरुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ ।
कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । राजमार्गमा जोखिमका कारण पटकपटक विशेषगरी राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएको छ ।
दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडवाडका बखत भने तेब्बर सवारी साधन ओहोरदोहोरनै गर्छन् ।
त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ ।
तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन् ।
बिपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी वालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरेपनि नियम कार्यान्वयन गर्ने निकाय भने प्रायः मुकदर्शक नै बन्ने गरेको पाइन्छ ।
बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रुपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन् ।
दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् ।
बेलाबखत प्रहरीले चेकिङ गरे पनि नियमित रुपमा अनुगमन हुन सकिरहेको छैन ।
यसको फाइदा टिपर व्यवसायीले उठाउँदै आएका छन् ।
सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आएका पनि छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक ३ हजारभदा बढी सवारी साधन आवतजावगत गर्ने गरेका छन् ।
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकाशं साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् ।
यस सडकमा ट्रिपर, मिनी बस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।
खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।
- राजकुमार पराजुली/रासस
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया