काठमाडौं । अमेरिकामा अध्ययनरत एक युवतीले कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’ बाट हटाइएको छ।
निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार (चैत २० गते) एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लमसाललाई फिल्मबाट हटाउने र उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन (रि–सुट) गर्ने निर्णय सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा भनिएको छ कि गत चैत २ गतेदेखि झापा आसपासमा फिल्मको छायांकन भइरहेको थियो। करिब ९० प्रतिशत दृश्यहरू खिचिसकिएको अवस्थामा यो विवाद बाहिर आएको भए पनि निर्माण पक्षले अब लम्सालको कुनै पनि दृश्य अन्तिम चलचित्रमा समावेश नहुने र ती सबै दृश्य फेरि खिचिने स्पष्ट पारेको छ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार करिब सबै काम सकिएका कलाकारलाई हटाउँदा फिल्मलाई आर्थिक क्षति पुग्ने भए पनि पीडित युवतीको न्याय र सुरक्षित वातावरण सुनिश्चित गर्नु अझ महत्वपूर्ण रहेको कम्पनीको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘जघन्य अपराधमा आरोप लागिसकेका जो कोही पनि हाम्रो फिल्मको सदस्य हुन सक्दैनन्। ‘पाँच पाण्डव’ जस्तो पवित्र नाम र सामाजिक सन्देश भएको फिल्ममा आरोपितलाई राख्दा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने भएकाले सम्झौता तत्काल रद्द गरिएको छ।’
निर्माण पक्षले घटनाको सत्यतथ्य जाँचबुझका लागि माग गर्दै पीडितले यथाशीघ्र न्याय पाउनुपर्नेमा जोड दिएको छ। लम्सालले कानुनी प्रक्रिया अपनाउने अधिकार राखेपनि, नैतिक रूपमा विवादित भएकाले उनलाई फिल्ममा राखिराख्न उचित नभएको प्रस्तुतकर्ता श्रेष्ठले स्पष्ट पारेका छन्।
चलचित्र बसन्त निरौलाको निर्देशनमा बनिरहेको छ र यसमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायतका कलाकार मुख्य भूमिकामा छन्। लम्सालको स्थानमा नयाँ कलाकारलाई अनुबन्ध गर्ने निर्णयको जानकारी भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया