सर्लाही। माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको बेला परीक्षा हलभित्रै मोबाइल प्रयोग गरेर चिट चोर्दै गरेका तीन परीक्षार्थी लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गोडैता नगरपालिका–५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट शुक्रबार बिहान करिब ८ः४० बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बलरा नगरपालिका–८ गडहिया डुमरियास्थित श्री नमुना माध्यमिक विद्यालयका पृतम यादव र आलोक यादव तथा गोडैता–५ रामवनस्थित श्री नारायण हरि माध्यमिक विद्यालयका सुमित यादव रहेका छन् ।
परीक्षा चलिरहेकै समयमा उनीहरूले मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाउने र उत्तर प्राप्त गर्ने प्रयास गरेको देखिएपछि केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । प्रहरीले अनुसन्धान गर्दा उनीहरूले वाट्सएप ग्रुप बनाएर चिट चोरेको पाइएको छ ।
पक्राउ परेका तीन परीक्षार्थी लाई इलाका प्रहरी कार्यालय बरहथवामा राखेर थप अनुसन्धान भइरहेको छ । परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै उनीहरूको शुक्रबारको अनिवार्य नेपाली विषयको परीक्षा रद्द गरिएको छ ।
यसअघि बिहीबार जिल्लाको कविलासी नगरपालिका–२ पिपरियास्थित श्री बाल गोबिन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिरबाट प्रश्नपत्र आउट गर्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
एसईई परीक्षाको मर्यादा कायम राख्न प्रहरीले कडा निगरानी बढाएको छ ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया