काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिने भन्दै अवैध रूपमा रकम असुली गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सल्यानका कर्णबहादुर राउत, तनहुँका आनन्द थापा, नवलपरासी (पूर्व)का राधिका पाठक पौडेल र मोरङका तिलक परियारलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेका चारै जनालाई आज सार्वजनिक गर्दै उनीहरूले विभिन्न व्यक्तिबाट ७३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको जानकारी दिएको छ। कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार राउतले ११ जनालाई फिनल्याण्ड पठाइदिने भन्दै ५७ लाख रुपैयाँ असुलेका थिए।
यस्तै, थापाले माल्टा पठाइदिने भन्दै एक जनाबाट ४ लाख ५० हजार रुपैयाँ, पौडेलले दुई जनाबाट ४ लाख २० हजार रुपैयाँ र परियारले सर्बिया पठाइदिने भन्दै दुई जनाबाट ८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार










प्रतिक्रिया