काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य लगातार बढाउँदै लगे पनि सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीहरूले सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा वृद्धि गर्न अन्तिम चेतावनी दिँदै यस्तो निर्णय सार्वजनिक गरेको हो। नेपाल आयल निगमले छोटो अवधिमै तीन पटक डिजेल र पेट्रोलको मूल्य बढाए पनि सवारी भाडा नबढाइएको भन्दै महासंघले तत्काल भाडा समायोजन गर्न माग गरेको छ।
महासंघले सरकारबाट निर्णय नभए देशभर सार्वजनिक यातायात सेवा ठप्प पार्ने वा आफैं भाडादर निर्धारण गर्ने चेतावनी दिएको छ। हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन हुने तर सार्वजनिक यातायातमा भने सरकारले बेवास्ता गरेको भन्दै व्यवसायीहरू असन्तुष्ट छन्।
महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार निर्णय गर्नुपर्ने माग गरिएको छ। विभागले यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत तथा मालवाहक सवारीमा तराई र पहाडमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा वृद्धि सिफारिस गरिसके पनि मन्त्रालयले निर्णय नगरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा २०७२ सालदेखि विभिन्न १३ सूचकका आधारमा भाडा समायोजन नभएको र हाल दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपरेको उल्लेख गरिएको छ। पटक–पटकको अनुरोधलाई सरकारले बेवास्ता गरेको भन्दै अब घाटामा सेवा दिन नसकिने महासंघले स्पष्ट पारेको छ।
सरकारले तत्काल निर्णय नगरे वैज्ञानिक आधारमा व्यवसायीहरूले आफैं भाडा वृद्धि गर्ने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी राज्यले नै लिनुपर्ने महासंघले जनाएको छ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार










प्रतिक्रिया