काठमाडौं। गायिका समीक्षा अधिकारीले बलात्कार प्रकरणमा पीडितहरूमाथि भइरहेको सामाजिक आक्रमण र दोषारोपणप्रति गहिरो पीडा व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जालमा आफ्नो भावना सार्वजनिक गर्दै समीक्षाले आफूले पनि १८ वर्ष नपुग्दै भोग्नुपरेको सामाजिक दबाब, एक्लो संघर्ष र मानसिक यातनाको बारेमा खुलस्त पारेकी छन् । उनले लेखेकी छन्, “एउटा पीडितको मन अर्को पीडितले मात्र बुझ्न सक्छ । म त्यो घटनाबाट धेरै अगाडि बढिसकेकी छु, तर ती दिन सम्झिँदा आज पनि मन चिरिन्छ ।”
समीक्षाले थप उल्लेख गरेकी छन्, “यो समाजले मलाई बाँच्न कहाँ दिएको थियो र ? म दिनदिनै मरीमरी बाँच्थेँ । त्यो अँध्यारो जङ्घार कसरी काटेँ, आज सम्झिँदा पनि शरीर सिरिङ्ग हुन्छ । तर मनभित्र एउटा बलियो हिम्मत थियो – मैले गलत गरेको छैन, एकदिन सबैले मलाई बुझ्नेछन् भन्ने विश्वास थियो ।”
उनले आफूले १८ वर्ष नपुग्दै एक्लै समाजसँग लड्नुपरेको, कसैले साथ दिन खोज्दा पनि उनीहरूको चरित्रमाथि प्रश्न उठाइने गरेको र आफ्नो परिवारबाहेक कसैले आवाज सुन्न नचाहेको पीडादायी अनुभव साटेकी छन् । “म कति टुटेँ, कति रोएँ, शब्दमा भन्न सकिँदैन । यदि त्यतिबेला हिम्मत हारेको भए आज म यो संसारमा हुने थिइनँ होला,” उनले लेखेकी छन् ।
समीक्षाले अहिले पनि पीडित छोरीहरूमाथि “किन ढिलो बोलिस् ? त्यतिबेलै किन उजुरी गरिनस् ?” भन्ने प्रश्न सोधिने प्रवृत्तिप्रति दुख व्यक्त गरेकी छन् । उनले भनेकी छन्, “छोरी मान्छे भएपछि डर र समाजको दबाबले कति कुरा मनमै दबाउनुपर्छ । ‘मलाई नै गलत भन्ला कि’ भन्ने डरले आत्मा थिचिन्छ । मन मिल्दा चमत्कार र नमिल्दा बलात्कार भन्ने सोचले झन् पीडा थप्छ ।”
अन्त्यमा समीक्षाले सबैलाई अनुरोध गरेकी छन्, “कसैको पीडालाई अरूसँग नतुलाउनुहोस् । हरेक घाउको आफ्नै गहिराइ हुन्छ ।” उनले दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै “बिष्टको केसमा दुवै पक्षको सत्य बाहिर आओस् र दोषीलाई कडा भन्दा कडा सजाय होस्” भन्ने कामना व्यक्त गरेकी छन् ।
समीक्षाको यो भावनात्मक अभिव्यक्तिले बलात्कार तथा यौन हिंसाका पीडितहरूमाथि समाजले गर्ने दोषारोपण र पीडितप्रतिको संवेदनहीन दृष्टिकोणलाई पुनः चर्चामा ल्याएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार












प्रतिक्रिया