काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकसम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा अधुरै रहँदै ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
सर्वोच्च अदालतले यसअघि कारण देखाऊ आदेश जारी गर्दै विपक्षीसँग लिखित जवाफ मागेको थियो। उक्त जवाफ पेस भएपछि आइतबार (चैत २२) का लागि पेसी तोकिएको थियो। तर सुनुवाइ नसकिएपछि मुद्दा भोलिका लागि स्थगित गरिएको हो।
सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले चैत १४ गते दुवै नेतालाई नियन्त्रणमा लिएको थियो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनामा अनुसन्धानका लागि पक्राउ परेका लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए।
उक्त आन्दोलनका क्रममा भएको दमनका घटनामा उनीहरूलाई जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया