काठमाडौं । काठमाडौं जिल्ला अदालतले बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई हिरासतमुक्त गरेर थप अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा पक्राउ परेकी शर्मालाई म्याद थपका लागि दोस्रो पटक अदालत उपस्थित गराइएको थियो। तर, जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उनलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै हिरासतमुक्त गर्न आदेश दिएका हुन्।

advertisement

अदालतले मिसिलमा संलग्न कागजातहरूको अध्ययन गर्दा प्रतिवादी शर्माले ती बालिकाको संरक्षकको भूमिका पूरा गर्दै आएको देखिएको बताएको छ। अदालतको आदेशमा पीडित बालिकाको पढाइले निरन्तरता पाइरहेको उल्लेख छ।

रेखा कुमारी शर्मा ले पीडितलाई यातना दिएको वा दास बनाएर राखेको भन्ने आरोपलाई पुष्टि गर्ने कुनै पनि वस्तुनिष्ठ र निश्चयात्मक प्रमाण मिसिलमा नदेखिएको इजलासले बताएको छ।

ठोस प्रमाणको अभाव र बालिकाको शिक्षामा भइरहेको निरन्तरतालाई आधार मान्दै अदालतले आरोपितलाई हिरासतबाहिर राख्ने निर्णय गरेको हो।

यस मुद्दामा सरकारी वकिलको कार्यालयले यसअघि नै गरिसकेको निर्णयलाई अदालतले प्रमुख आधार मानेको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले शर्माको हकमा दास बनाउन नहुने कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

सोही निर्णय तथ्य र कानुनसम्मत रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले २०८० जेठ १६ गते नै अन्तिम रूपमा मुद्दा नचल्ने निर्णय गरिसकेको थियो।

एउटै विषयमा पहिले नै महान्यायाधिवक्ताबाट मुद्दा नचलाउने निर्णय भइसकेको अवस्थामा पुनः प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्नुको औचित्य नभएको अदालतले बताएको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com