काठमाडौं। गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लाई भेटेर भ्रष्टाचारका मुद्दाको अनुसन्धान र अभियोजनमा तीव्रता दिन आग्रह गरेका छन् ।
गृहमन्त्रीनिकट स्रोतका अनुसार तीन दिनअघि गुरुङ टिमसहित अख्तियार प्रमुख राईलाई भेट्न पुगेका थिए । भेटमा गुरुङले सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।
गृहमन्त्री गुरुङले राईलाई भनेका थिए, “सरकारको स्पिरिटलाई समाएर काम गर्नुहोस् । तपाईंलाई सूचना र जनशक्ति चाहिन्छ भने भन्नुहोस्, म दिन तयार छु । कसैलाई पनि नछाड्नुहोस्, धमाधम फाइल खोल्नुहोस् । हाम्रो साथ रहनेछ ।”
अख्तियार प्रमुख प्रेमकुमार राई ले गृहमन्त्रीलाई पूर्वप्रधानमन्त्री, पूर्वमुख्यसचिव लगायत ठूला व्यक्तिहरू मुछिएका भ्रष्टाचारका काण्डमा अनुसन्धान भइरहेको जानकारी गराएका थिए ।
गृहमन्त्रीको यो ढाडसपछि अख्तियारले दल र नेताको दबाबमा रोकिएका ‘ठूला माछा’ मुछिएका दर्जनौं पुराना काण्डको अनुसन्धानलाई तीव्रता दिएको स्रोतले बताएको छ ।
यो भेटलाई गृहमन्त्री गुरुङले भ्रष्टाचारविरुद्धको अभियानलाई थप बल दिने प्रयासको रूपमा हेरिएको छ ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया