काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत र नापी कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।
बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनअनुसार सचिव स्तरीय बैठकले यो निर्णय लिएको हो । मन्त्रालयले सबै मालपोत र नापी कार्यालयलाई परिचय खुल्ने कागजात भएका व्यक्तिलाई मात्र प्रवेश दिन निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार कार्यालयमा विभिन्न बहानामा बिचौलिया प्रवेश गरी महत्त्वपूर्ण कागजात र स्रेस्तामा अनियन्त्रित पहुँच राख्ने गुनासो बढेपछि यो कदम चालिएको हो । निर्देशनमा कार्यालयका गोप्य तथा संवेदनशील कागजातमा अनधिकृत व्यक्तिको पहुँच बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
यदि निर्देशन पालना नभएमा कार्यालय प्रमुख जिम्मेवार हुने चेतावनी पनि दिइएको छ ।
बिचौलियालाई रोकेपछि अब सेवाग्राहीले आफ्नो निवेदन र परिचय खुल्ने कागजात देखाएर सिधै कार्यालयमा प्रवेश गरी सेवा लिन सक्नेछन् । यसले सेवाग्राहीलाई सहज हुने र भ्रष्टाचार तथा बिचौलियाको प्रभाव घट्ने अपेक्षा गरिएको छ ।
यो निर्णयले भूमिसँग सम्बन्धित सरकारी सेवालाई थप पारदर्शी र व्यवस्थित बनाउने विश्वास लिइएको छ ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया