एजेन्सी । इरान र अमेरिकाबीच चलिरहेको तनावपूर्ण सैन्य द्वन्द्व अन्त्य गर्न पाकिस्तानले ‘इस्लामावाद सम्झौता’ नामक नयाँ शान्ति प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव सफल भएमा सोमबारदेखि नै तत्काल युद्धविराम लागू हुने र विश्वकै रणनीतिक व्यापारिक मार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरले आइतबार राति अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विटकफ तथा इरानी विदेशमन्त्री अब्बास अराक्चीसँग गरेको उच्चस्तरीय संवादपछि उक्त प्रस्ताव तयार पारिएको हो।
प्रस्तावलाई दुई चरणमा कार्यान्वयन गर्ने योजना बनाइएको छ। पहिलो चरणअन्तर्गत तत्काल युद्धविराम गर्ने र स्ट्रेट अफ हर्मुजलाई पुनः खुला गर्ने सहमति रहनेछ। दोस्रो चरणमा आगामी १५ देखि २० दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा प्रत्यक्ष वार्ता गरी दीर्घकालीन शान्ति सम्झौतालाई अन्तिम रूप दिने लक्ष्य राखिएको छ।
यस प्रस्तावअनुसार इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउनुपर्नेछ भने त्यसको सट्टामा अमेरिकाले इरानमाथि लगाएका आर्थिक प्रतिबन्ध हटाउने र रोक्का गरिएका सम्पत्तिहरू फुकुवा गर्ने व्यवस्था रहनेछ।
यद्यपि इरानले अमेरिका र इजरायलबाट भविष्यमा कुनै पनि सैन्य आक्रमण नहुने स्पष्ट सुरक्षा प्रत्याभूति सहित स्थायी युद्धविराम चाहेको जनाएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि निरन्तर दबाब दिँदै आएका छन् भने पाकिस्तान, चीनलगायत अन्य क्षेत्रीय शक्तिहरूले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन्।
हालसम्म दुवै पक्षले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। तर कूटनीतिक स्रोतहरूले सोमबार नै प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर हुन सक्ने संकेत दिएका छन्।
छ हप्तादेखि जारी यो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय तेल बजारमा अस्थिरता र विश्व सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएपछि उक्त शान्ति पहललाई विशेष महत्वका साथ हेरिएको छ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया