काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापा ले गृहमन्त्री सुधन गुरुङमाथि कटाक्ष गरेका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेता थापाले गृहमन्त्री गुरुङलाई डान्सबारको पूर्वबाउन्सर र फेवातालको अतिक्रमणकारी भन्दै कटाक्ष गरेका हुन्।
थापाले लेखेका छन्, ‘डान्सबारको पूर्व बाउन्सर, फेवातालको हुस्सु अतिक्रमणकारी, संदिग्ध टिओबीको अब खास हैसियत देखिने भयो !’
उनले गृहमन्त्रीको विगतको पेसा र फेवाताल अतिक्रमण विवादलाई जोडेर प्रहार गरेका हुन्।
पछिल्लो समय फेवातालको जग्गा अतिक्रमण प्रकरण चर्चामा छ। पोखराको सिम्ले लामिडाँडामा जग्गा भाडामा लिएर वर्षौंसम्म पैसा नतिरेको आरोपमा गृहमन्त्री गुरुङ स्वयं विवादमा तानिएका छन्।
जग्गाधनी ओमबहादुर गुरुङका अनुसार सुधनले करिब ६ वर्षअघि १५ वर्षका लागि वार्षिक २ लाख रुपैयाँ तिर्ने गरी जग्गा भाडामा लिएका थिए। तर, एक वर्षको मात्र भाडा तिरेर रिसोर्टको संरचना बनाएपछि उनी सम्पर्कविहीन भएको जग्गाधनीको दाबी छ।
यस विषयमा गृहमन्त्री गुरुङले भाडा नतिर्ने घोषणा गरिसकेका छन्। सोमबार सामाजिक संचारकर्मीसँग कुराकानी गर्दै उनले भनेका थिए, ‘मापदण्डमा परेको चिजको भाडा किन तिर्ने ? त्यो त सरकारी जमिन हो, भाडा सरकारलाई बुझाउनुपर्छ।’
तालको मापदण्डमा परेर संरचना भत्किए वा लगानी डुबे पनि आफूलाई फरक नपर्ने उनको दाबी थियो। यसै विवादलाई लिएर एमाले नेता थापाले गृहमन्त्रीलाई फेवातालको दुष्ट अतिक्रमणकारी भन्दै सार्वजनिक रूपमै कटाक्ष गरेका हुन्।
३८ वर्षका सुधन गुरुङको राजनीतिक उदय निकै नाटकीय छ। भदौमा भएको जेनजी आन्दोलनमा सडकमा पानी बाँड्दै हिँड्ने गुरुङ जम्मा ६ महिनामै सडकदेखि सदन हुँदै सिंहदरबारको शक्तिशाली कुर्सीमा पुगेका छन्।
२०७२ को भूकम्पपछि ठमेलको क्लब सञ्चालन छाडेर हामी नेपाल नामक संस्थामार्फत उनी समाजसेवामा लागेका थिए। जेनजी आन्दोलन नै उनको राजनीतिक जीवनको टर्निङ प्वाइन्ट बन्यो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा १ मा निर्वाचित भएपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले उनको एक्सन ओरियन्टेड स्पिरिट देखेरै गृहमन्त्रीको जिम्मेवारी सुम्पिए।
चैत १३ गते गृहमन्त्रीको शपथ लिएलगत्तै उनी आक्रामक एक्सनमा उत्रिएका छन्। पदभार सम्हालेको भोलिपल्टै उनले जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गराए।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर मन्त्री गुरुङले धमाधम कारबाही अघि बढाए।
आफ्ना पार्टी अध्यक्षलाई कारबाही प्रकिया अघि बढाएपछि प्रमुख प्रतिपक्षी दलका नेताहरुबाट उनीमाथि विगत र व्यक्तिगत आचरणलाई लिएर प्रहार हुने गरेको छ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया