काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तोकिएको समयसीमाभित्र सम्झौता नभए कडा सैन्य कदम चाल्न सकिने चेतावनी दिएका छन्। उनले इरानलाई महत्वपूर्ण ऊर्जा मार्ग स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्न आग्रह गरेका छन्।
वासिङ्टन समयअनुसार मंगलबार राति ८ बजेसम्मको समयसीमा तोक्दै ट्रम्पले केही इरानी नेताहरू वार्तामा सकारात्मक रूपमा सहभागी भए पनि अन्तिम नतिजा अनिश्चित रहेको बताएका छन्।
इरानले भने अस्थायी युद्धविरामको प्रस्ताव अस्वीकार गर्दै स्थायी रूपमा द्वन्द्व अन्त्य र प्रतिबन्ध हटाउनुपर्ने अडान लिएको छ।
ट्रम्पले समयसीमा नाघेमा इरानको ऊर्जा तथा यातायात पूर्वाधारमा आक्रमण हुन सक्ने चेतावनी दोहोर्याएका छन्। उनले पुल र विद्युत् केन्द्रहरू नष्ट गरिने दाबी गर्दै कडा प्रतिक्रिया जनाउने संकेत दिएका छन्।
यसैबीच, कानुनी विज्ञहरूले इरानी पूर्वाधारमा योजनाबद्ध आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध हुन सक्ने चेतावनी दिएका छन्।
अमेरिकी पक्षले युद्ध सुरु भएदेखि इरानभर १३ हजारभन्दा बढी आक्रमण गरिएको दाबी पनि गरिएको छ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया