काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अत्यन्त आक्रामक चेतावनी दिँदै होर्मुज स्ट्रेट खुला नगरे ‘एकै रातमा इरान समाप्त’ पार्न सकिने धम्की दिएका छन् ।

ह्वाइट हाउसमा सोमबार आयोजित प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले मंगलबार राति ८ बजेसम्म (वासिङ्टन समयअनुसार) इरानले अमेरिकी सर्त पूरा नगरे भोलिको रात नै इरानका लागि अन्तिम हुन सक्ने बताए ।

advertisement

ट्रम्पको मुख्य माग इरानले विश्वको तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने ‘होर्मुज स्ट्रेट’ पूर्ण रूपमा खुला गर्नुपर्ने रहेको छ ।

उनले भने, “सम्पूर्ण एकै रातमा इरान ध्वस्त पार्न सकिन्छ र त्यो रात भोलि हुन सक्छ ।”

ट्रम्पले इरानका नेताहरूसँग सद्भावपूर्ण वार्ता भइरहेको विश्वास व्यक्त गरे पनि नतिजा अझै अनिश्चित रहेको बताए ।

यदि डेडलाइनभित्र स्ट्रेट नखोलिएमा अमेरिकाले इरानको ऊर्जा पूर्वाधार, पावर प्लान्ट र पुलहरूमाथि भिषण आक्रमण गर्ने चेतावनी दिए ।

“इरानलाई ढुङ्गे युगमा फर्काइनेछ । उनीहरूसँग न पुल बाँकी रहनेछ, न त पावर प्लान्ट नै,” ट्रम्पले भने ।

सम्मेलनमा जोइन्ट चिफ अफ चेयरम्यान जनरल डान केन र रक्षा मन्त्री पीट हेगसेथ पनि उपस्थित थिए ।

ट्रम्पले दक्षिणी इरानमा खसालिएको अमेरिकी लडाकु विमानका चालक दलको उद्धार कार्यलाई ‘बहादुरीपूर्ण’ भन्दै प्रशंसा गरे ।

यता इरानले भने अमेरिकाको अस्थायी युद्धविराम प्रस्ताव ठाडै अस्वीकार गरेको छ ।

इरानले स्थायी युद्ध अन्त्य, प्रतिबन्ध हटाउने, पूर्वाधार पुनर्निर्माणमा सहयोग र होर्मुज स्ट्रेटमा सुरक्षित आवागमनको माग गरेको छ ।

हाल इरानमा सञ्चार प्रणाली ठप्प भएकाले वार्ता सन्देश आदानप्रदानमा कठिनाइ भइरहेको बताइएको छ ।

पाकिस्तान, टर्की र इजिप्टले मध्यस्थता प्रयास गरिरहेका छन् ।

ट्रम्पले नेटो, बेलायत र दक्षिण कोरियाको समेत आलोचना गर्दै संकटको समयमा साथ नदिएको भन्दै कडा टिप्पणी गरेका छन् ।

यो द्वन्द्व फेब्रुअरी २८ देखि सुरु भएको हो ।

अमेरिकाले इरानमा १३,००० भन्दा बढी आक्रमण गरिसकेको दाबी गरेको छ भने इरानले इजरायललगायत क्षेत्रमा मिसाइल प्रहार जारी राखेको छ ।

ट्रम्पको यो चेतावनीसँगै मध्यपूर्वमा तनाव चरममा पुगेको छ ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com