काठमाडौं । निशा मेहता ले मानव स्वास्थ्यको सुरक्षाका लागि प्रकृति र पशुपंक्षीको स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताएकी छन्।
विश्व स्वास्थ्य दिवस को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘एक स्वास्थ्य’ (वान हेल्थ) को अवधारणालाई सुदृढ बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरिन्। प्रकृति सुरक्षित नभएसम्म र पशुपंक्षी स्वस्थ नरहेसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने उनको भनाइ छ।
मन्त्री मेहताले पछिल्लो समय मानव र पशुपंक्षीबीचको बढ्दो निकटताले स्वास्थ्य क्षेत्रमा नयाँ र जटिल चुनौतीहरू थपिएको भन्दै चिन्ता व्यक्त गरिन्। विशेषगरी रेबिज जस्ता पशुपंक्षीबाट सर्ने प्राणघातक रोग, जलवायु परिवर्तनका कारण फैलिएका किटजन्य रोग तथा वातावरणीय प्रदूषणले निम्त्याउने क्यान्सर, मुटुरोग र मस्तिष्कघात जस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएको उनले बताइन्।
जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबीचको समन्वयबाट मात्र यस्ता समस्याको समाधान सम्भव हुने उनको भनाइ छ। कार्यक्रममा बोल्दै उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स को बढ्दो जोखिमबारे पनि सचेत गराइन्। मानिस र पशुपंक्षी दुवैमा औषधिको जथाभाबी प्रयोगले भविष्यमा गम्भीर स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने भन्दै यसको नियन्त्रणका लागि सबै सरोकारवाला निकाय जुट्नुपर्नेमा उनले जोड दिइन्।
सरकारले सन् २०१९ देखि ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ कार्यान्वयनमा ल्याएको जानकारी दिँदै मन्त्री मेहताले आगामी दिनमा रोग निगरानी प्रणालीलाई अझ आधुनिक र सुदृढ बनाउने प्रतिबद्धता जनाइन्। नेपाल कृषिप्रधान देश भएकाले ठूलो जनसङ्ख्या पशुपालनमा निर्भर रहेको सन्दर्भमा मानव, पशुपंक्षी र वातावरणबीचको अन्तरसम्बन्ध अझ सुदृढ हुनुपर्ने उनले उल्लेख गरिन्।
उनले नागरिकलाई उपचारभन्दा रोग रोकथाममा ध्यान दिन आग्रह गर्दै सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई नियमित खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाह बिना एन्टिमाइक्रोबियल औषधि प्रयोग नगर्न सुझाव दिइन्।
यस वर्ष ‘मानव, पशुपंक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाइएको छ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया