काठमाडौं। शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यो निर्णय गरेको हो ।

advertisement

सेन्ट्रल कमान्ड सिस्टममार्फत देशभरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका कार्यालयहरूसँग सिधा सम्पर्क कायम गरी सूचना आदानप्रदान र अनुगमन कार्यलाई तीव्रता दिइने छ ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले भने, “यो प्रणालीले सूचना आदानप्रदानलाई छिटो बनाउने र महत्वपूर्ण स्थानहरूको प्रत्यक्ष अनुगमन गर्न सहयोग पुग्नेछ ।”

गृहमन्त्री सुधन गुरुङले प्रणाली स्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

यसैगरी, सर्वसाधारणले दिएको उजुरी तथा जाहेरीको प्रगति विवरण अब सम्बन्धित व्यक्तिलाई फोन, एसएमएस र इमेलमार्फत उपलब्ध गराउने व्यवस्था गरिने भएको छ ।

नेपाल प्रहरीले मातहतका कार्यालयहरूलाई यससम्बन्धी निर्देशन दिइसकेको छ ।

गृहमन्त्री गुरुङले यसको साप्ताहिक प्रतिवेदन मन्त्रालयमा पेस गर्न र क्रमशः अन्य निकायमा पनि लागू गर्न निर्देशन दिएका छन् ।

बैठकले गृह मन्त्रालय र मातहतका निकायहरूमा जनगुनासो सुन्ने प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

यसका लागि सबै कार्यालयमा गुनासो व्यवस्थापन संयन्त्र सक्रिय बनाइने र मन्त्रालयमा कल सेन्टर स्थापना गरी जनताका गुनासो सम्बोधन गरिने भएको छ ।

यो प्रणाली लागू भएपछि सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र सेवा प्रवाहमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com