एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा दुर्घटनाग्रस्त अमेरिकी लडाकु विमानसँग सम्बन्धित संवेदनशील सूचना सार्वजनिक भएको विषयलाई लिएर कडा चेतावनी दिएका छन्। उनले यस्तो गोप्य जानकारी सार्वजनिक गर्ने पत्रकार वा सञ्चारमाध्यममाथि कडा कानुनी कारबाही हुन सक्ने संकेत गरेका हुन्।

सोमबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले राष्ट्रिय सुरक्षासँग जोडिएको सूचना चुहावट गम्भीर अपराध भएको उल्लेख गरे। उनले स्रोत खुलाउन दबाब दिँदै भने, ‘हामी सम्बन्धित मिडिया संस्थासँग पुग्छौं र भन्छौं— यो राष्ट्रिय सुरक्षाको विषय हो, स्रोत खुलाऊ, नत्र जेल सजाय भोग्न तयार होऊ। यदि पत्रकारले स्रोत बताउन अस्वीकार गरे, जेल जानुपर्ने अवस्था आउन सक्छ।’

advertisement

गत शुक्रबार इरानमा खसेको अमेरिकी लडाकु विमानका एक पाइलटको उद्धार सफल भए पनि अर्का पाइलट सम्पर्कविहीन रहेको खबर सार्वजनिक भएको थियो। ट्रम्पका अनुसार, उक्त समाचार बाहिरिएपछि उद्धार अभियान थप जटिल र जोखिमपूर्ण बनेको थियो।

अमेरिकी अधिकारीहरूका अनुसार, हराइरहेका दोस्रो पाइलटलाई आइतबार बिहान उच्च जोखिमयुक्त विशेष अपरेसनमार्फत सुरक्षित रूपमा उद्धार गरिएको थियो। जोन रेटक्लिफले उक्त अभियानलाई ‘मरुभूमिमा बालुवाको एक कण खोज्नुजत्तिकै कठिन’ भएको टिप्पणी गरेका थिए।

ट्रम्पले सूचना चुहावटका कारण इरानले पनि पाइलटको अवस्थाबारे जानकारी पाएको र त्यसले उद्धार कार्यलाई झनै जटिल बनाएको दाबी गरे। “एकाएक इरानभरि एक पाइलट जीवनरक्षाका लागि संघर्ष गरिरहेको खबर फैलियो,” उनले भने।

यस घटनापछि ह्वाइट हाउसले औपचारिक अनुसन्धान सुरु गरेको जनाएको छ। यद्यपि, ट्रम्पले कुन सञ्चारमाध्यम वा व्यक्तिलाई लक्षित गरिएको हो भन्नेबारे भने स्पष्ट खुलाएका छैनन्।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com