काठमाडौं। नासाको आर्टेमिस २ मिसनका चार अन्तरिक्ष यात्रीले पृथ्वीबाट सबैभन्दा टाढा यात्रा गर्ने नयाँ रेकर्ड कायम गरेका छन् ।
ओरियन अन्तरिक्ष यानसहित उनीहरू २५२,७५७ माइल (करिब ४०६,७७३ किलोमिटर) टाढा पुगेका हुन् । यो दूरी अहिलेसम्म कुनै पनि मानिसले यात्रा गरेको सबैभन्दा टाढाको रेकर्ड हो ।
नासाले गरेको रिपोर्टअनुसार यो नयाँ रेकर्ड अप्रिल ६, २०२६ मा चन्द्रमाको फर साइड घुम्ने क्रममा कायम भएको हो । यसअघि सन् १९७० मा अपोलो १३ मिसनले स्थापित गरेको २४८,६५५ माइलको रेकर्डलाई नासाको आर्टेमिस २ ले करिब ४,१०० माइलले तोडेको छ ।
आर्टेमिस २ का कमान्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानेडाली अन्तरिक्ष यात्री जेरेमी ह्यान्सेनले चन्द्रमाको सतहमा अवतरण नगरी वरपरको क्षेत्रमा घुम्ने क्रममा यो उपलब्धि हासिल गरेका हुन् ।
यो मिसन अप्रिल १ मा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सुरु भएको १० दिने अभियान हो । यसले भविष्यमा चन्द्रमामा मानिस अवतरण गर्ने आर्टेमिस कार्यक्रमका लागि महत्वपूर्ण डाटा संकलन गरिरहेको छ ।
५५ वर्षपछि मानिसहरूले पृथ्वीबाट यति टाढा यात्रा गरेको यो पहिलो पटक हो ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया