काठमाडौं। प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा एमालेका सांसद हरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
शून्य समयमा बोल्ने एमालेका सांसद गुरुप्रसाद बराल, यशोदा बराल, गणेशसिंह ठगुन्ना, गंगा छन्त्याल र कुलभक्त शाक्यले ओली र लेखकको पक्राउ गैरकानुनी तथा संविधान र विधिको शासनविपरीत भएको आरोप लगाए ।
सांसद गुरुप्रसाद बरालले सरकारले संविधान उल्लङ्घन गरेको बताउँदै ओली र लेखकमाथि लगाइएको मुद्दा खारेज गर्नुपर्ने माग गरे ।
सांसद गणेशसिंह ठगुन्नाले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रिहाइको माग गरे भने सांसद यशोदा बरालले २००७ सालदेखिका सबै परिवर्तनका घटनाको फाइल खोल्न माग गर्दै ओलीमाथि मात्र प्रतिशोध नसाध्न चेतावनी दिइन् ।
उनले भनिन्, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधले भित्र हालेर तपाईंको अभियान सफल नपारियोस्, भोलि सरकारले ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।”
गत भदौ २३ र २४ गतेको जनआन्दोलनमा अस्वाभाविक बल प्रयोग गरी स्कुले ड्रेसमा रहेका विद्यार्थीलाई गोली हानेको आरोपमा चैत १४ गते ओली र लेखक पक्राउ परेका थिए ।
उनीहरू अझै प्रहरी हिरासतमा छन् ।
कांग्रेस सांसद मौन
रोचक के छ भने, कांग्रेस नेता रमेश लेखक पक्राउ परे पनि कांग्रेसका सांसदहरू अभिषेकप्रताप शाह, गीता गुरुङ, गंगादेवी अवाल, खड्ग शाही, खड्कबहादुर बुढालगायतले उक्त विषयमा संसद्मा कुनै धारणा राखेनन् ।
उनीहरू पूर्ण रूपमा मौन रहे ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले भने विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई ताकेर गोली हान्ने व्यवस्था कुन कानुनले दिएको छ भनेर प्रश्न गर्दै यस्तो कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको बताइन् ।
एमालेले सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए पनि कांग्रेसले भने आफ्नै नेता लेखकको विषयमा मौनता साँधेको देखिएको छ ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया