काठमाडौं। काठमाडौं महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग (सीएचडी) तथा बाथ मुटु रोग (आरएचडी) को निःशुल्क परीक्षण गर्ने भएको छ ।
महानगरको स्वास्थ्य विभागका अनुसार विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी यो स्क्रीनिङ कार्यक्रम सञ्चालन हुन लागेको हो ।
स्वास्थ्य विभागका प्रमुख दीपक केसीले ४१ वटा सामुदायिक विद्यालयमा यो परीक्षण कार्यक्रम सञ्चालन गरिने बताए । यसका साथै महानगरका ३२ वडाका १५ ठाउँमा ‘गो रेड फर वुमेन’ नामक महिला मुटुरोग सचेतना कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
यो कार्यक्रम नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालन हुनेछ ।
विभाग प्रमुख केसीले भने, “बालबालिकामा जन्मजात मुटु रोग तथा बाथ मुटु रोग समयमा पत्ता लगाउन सकियो भने सरल उपचारबाट नै स्वस्थ जीवन बनाउन सकिन्छ । समस्या ढिलो पत्ता लागेमा महँगो उपचारले परिवारको आर्थिक अवस्था नै बिगार्न सक्छ । त्यसैले हामीले यो कार्यक्रम अघि सारेका हौं ।”
परीक्षणबाट प्राप्त तथ्यांकका आधारमा थप कार्यक्रम तर्जुमा गरिने पनि उनले बताए ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठले महानगरपालिकाको यो पहलले धेरै बालबालिकाको जीवन बचाउने र परिवारलाई ठूलो राहत पुग्ने बताएका छन् ।
यो कार्यक्रमले भविष्यका कर्णधारहरूको स्वास्थ्यमा ठोस योगदान दिने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया