काठमाडौ । अमेरिका र इरानबीच दुई हप्ते युद्धविराम घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। पाँच सातादेखि जारी तनावका कारण उच्च भएको तेलको मूल्य बुधबार करिब १५ प्रतिशतसम्म घटेको हो।
युद्धविरामको घोषणा लगत्तै विश्व बजारमा ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। यसले महँगी घट्ने अपेक्षासहित लगानीकर्तामा सकारात्मक माहोल सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीहरू एनभिडिया, टेस्ला र इन्टेलको सेयर मूल्य बढेको छ। तर कच्चा तेलको मूल्य घटेसँगै ऊर्जा क्षेत्रका कम्पनीहरूको सेयर भने करिब ३ प्रतिशतले ओरालो लागेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सम्भावित आक्रमण स्थगित गर्ने तथा इरानले होर्मुज जलडमरू पुनः खुला गर्ने सहमति भएपछि ऊर्जा बजारमा सकारात्मक प्रभाव देखिएको हो।
विश्व तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने उक्त जलडमरू इरानले बन्द गरेपछि बजारमा ठूलो दबाब परेको थियो। तर युद्धविराम सम्झौताअनुसार यो मार्ग तत्काल र सुरक्षित रूपमा सञ्चालनमा आउने भएपछि आपूर्ति सहज हुने विश्वासले बजारमा आशा बढेको छ।
पाकिस्तानको मध्यस्थतामा भएको यो युद्धविरामले खाडी क्षेत्रबाट हुने तेल र ग्यास ढुवानीमा रहेका अवरोध हट्ने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूका अनुसार तेलको मूल्यमा आएको गिरावटले विश्वव्यापी मुद्रास्फीति घटाउन सहयोग पुग्न सक्छ। यदि आगामी वार्ता सफल भई दीर्घकालीन शान्ति कायम भएमा तेलको मूल्य अझै घटेर युद्धअघिको अवस्थामा फर्किन सक्ने अनुमान गरिएको छ। यद्यपि, ओमानमा सुरु हुने वार्ताको निष्कर्ष नआएसम्म बजार केही अस्थिर रहन सक्ने विश्लेषण गरिएको छ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया