काठमाडौं । बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका बेला कारागारबाट फरार भएका एक युवक पुनः चोरी मुद्दामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खोटाङको तुवाचुङ–जन्तरखानी नगरपालिका–१० घर भएका ३१ वर्षीय उमेश पुरी रहेका छन्। उनलाई काठमाडौंको तीनकुनेबाट पक्राउगरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले जानकारी दिएका छन्।
प्रहरीकाअनुसार पुरी २०८२ साउन १९ गते बलात्कार मुद्दामा कारागार चलान भएका थिए। तर, उनी भदौ २४ गते कारागार कार्यालय डिल्लीबजारबाट फरार भएका थिए।
त्यसपछि चैत २ गते उनले अनलाइनमा बिक्रीका लागि राखिएको स्कुटर किन्ने बहानामा बोलाएर परीक्षण (टेस्ट ड्राइभ) गर्ने भन्दै बागमती प्रदेश–०२–०४३ प ५३७६ नम्बरको स्कुटर लिएर फरार भएका थिए।
घटनापछि सक्रिय खोजीमा जुटेको उपत्यका अपराध अनुसन्धान कार्यालय थिमी शाखाको टोलीले चैत २२ गते उनलाई तीनकुनेबाट पक्राउगरेको हो। प्रहरीले उनले लिएर भागेको स्कुटरसमेत बरामद गरेको जनाएको छ।
प्रहरी अभिलेखअनुसार पुरी यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन्। उनी २०७३ सालमा चोरी मुद्दामा खोटाङबाट र २०७७ सालमा बहुविवाह मुद्दामा सुनसरीको चक्रघट्टीबाट पक्राउपरेका थिए।
यस पटकको पक्राउसँगै उनी चौथोपटक आपराधिक घटनामा पक्राउपरेका हुन्। हाल उनीमाथि थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको छ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया