वासिङ्टन डीसी। अमेरिकी अर्बपति बिल गेट्स ले यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनसँगको आफ्नो सम्बन्धबारे अमेरिकी कंग्रेसको हाउस ओभरसाइट समितिमा बयान दिने भएका छन् ।
समितिले एपस्टिन प्रकरणको अनुसन्धान गरिरहेको छ । गेट्सले आगामी जुन १० मा समितिका सामु बयान दिने तयारी गरेका छन् ।
उनले समितिका सबै प्रश्नहरूको जवाफ दिन तयार रहेको र एपस्टिनसँगको सम्बन्धलाई लिएर भएका गल्तीहरू स्वीकार गर्ने बताएका छन् ।
गेट्सका प्रवक्ताले बीबीसीलाई दिएको जानकारी अनुसार उनी सुनुवाइमा पूर्ण सहयोग गर्न उत्सुक छन् ।
गेट्समाथि एपस्टिनका कुनै पीडितले प्रत्यक्ष दुराचारको आरोप लगाएका छैनन् ।
अनुसन्धान फाइलहरूमा उनको नाम उल्लेख भए पनि कुनै आपराधिक गतिविधिमा संलग्न भएको पुष्टि भएको छैन ।
यो वर्षको सुरुवातमा अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको ३० लाखभन्दा बढी दस्तावेजमा गेट्स र एपस्टिनबीचको सम्पर्कका विवरण समेत थिए ।
गत नोभेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एपस्टिनसम्बन्धी सबै सामग्री सार्वजनिक गर्न निर्देशन दिएपछि गेट्ससँग जोडिएका विवरण बाहिर आएका थिए ।
गेट्सले आफ्नो परोपकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका कर्मचारीहरूसँगको भेटमा एपस्टिनसँगको सम्बन्धमा आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका थिए ।
उनले कुनै अवैध गतिविधिमा संलग्न नभएको स्पष्ट पारेका छन् ।
वाल स्ट्रीट जर्नलका अनुसार गेट्सले एपस्टिनसँग बिताएको हरेक क्षणप्रति पछुतो व्यक्त गरेका थिए ।
अस्ट्रेलियाली मिडियासँगको अन्तर्वार्तामा पनि उनले एपस्टिनसँगको भेटघाट सीमित रहेको र उनको निजी टापुमा कहिल्यै नगएको बताएका थिए ।
समितिले गेट्सलाई बयान दिन मार्च ३ मा औपचारिक पत्र पठाएको थियो ।
यसअघि पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि उक्त समितिमा बयान दिइसकेका छन् ।
बिल गेट्स को यो बयानले एपस्टिन प्रकरणको अनुसन्धानलाई थप गति दिने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया