तनहुँ। प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैं अग्रसर रहेको बताएका छन् ।
आज तनहुँमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकता को संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान दिँदै आएको उल्लेख गरे ।
उनले भने, “नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम संस्थाका रूपमा विकास गर्नुपर्छ ।”
प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षाका साथै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको भूमिकाले सेनालाई स्वदेश तथा विदेशमा विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताए ।
उनले नेपाली सेनाको कल्याणकारी बोर्डले लाभग्राहीलाई एउटै छानामुनि ल्याउन सञ्जाल निर्माण तथा विस्तार गर्दै आएको जानकारी दिए । तर, समग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताका कारण बैङ्किङ क्षेत्रमा थपिएको चुनौती, मुद्दती निक्षेपको ब्याज आम्दानीमा आएको गिरावट तथा शान्ति स्थापनामा खटिएका फौजको सङ्ख्यामा भएको कटौतीले कल्याणकारी कार्यक्रमको सञ्चालन र दिगोपनामा चुनौती थपिएको प्रधानसेनापतिले बताए ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया