काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गर्न सकिनेछ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईद्वारा जारी सूचनाअनुसार आजै दिउँसो २:३० बजे उम्मेदवारहरूको नामावली दर्ता क्रमअनुसार सार्वजनिक गरिनेछ । उपसभामुखको निर्वाचन भने यही महिनाको २७ गते हुने तय गरिएको छ ।
संविधानमा सभामुख र उपसभामुख फरक–फरक लिङ्ग र समुदायबाट हुनुपर्ने व्यवस्था भएकाले को उपसभामुख बन्ने भन्ने विषय अझै खुल्न सकेको छैन ।
प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार सभामुखले तोकेको मिति र समयमा उपसभामुखको निर्वाचन हुने व्यवस्था छ, जसअनुसार सभामुख अर्यालले निर्वाचन मिति निर्धारण गरेका हुन् ।
हाल २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित स्पष्ट बहुमतमा छ । त्यस्तै, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।
रास्वपा एकल बहुमतमा भएकाले उसले समर्थन गर्ने उम्मेदवार नै उपसभामुख बन्ने लगभग निश्चित छ । उपसभामुख पदमा एमाले बाहेकका दलहरूले दाबी गरिरहेका छन् । यद्यपि, रास्वपाले हालसम्म कुनै दललाई समर्थन गर्नेबारे स्पष्ट संकेत दिएको छैन । दलहरूबीच छलफल जारी रहे पनि अन्तिम निष्कर्ष भने अझै निस्किएको छैन ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया