काठमाडौ । वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक हिलो र चिप्लो बनेपछि सवारी आवतजावत पूर्ण रूपमा ठप्प भएको हो।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपासको क्षेत्रमा वर्षाले सडक चिप्लो हुँदा सवारीसाधन फसेर रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। बुधबार दिउँसोदेखि परेको निरन्तर वर्षाका कारण सडकमा जामसमेत लागेको छ।
“हिजो दिउँसोदेखि सिमसिम पानी परिरहेकाले दाउन्ने उकालोमा गाडी चिप्लिने समस्या बढेको छ। हिलोका कारण सवारीसाधन फस्दा आवतजावत अवरुद्ध भएको छ,” उनले भने, “मालवाहक सवारीलाई हाल अरुणखोला क्षेत्रमा नै रोकिएको छ।”
यसैबीच, दाउन्ने खण्डमा ‘ग्राभेल’ हालेर सडक मर्मत गर्ने प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। सडक विस्तारको काम अधुरो रहँदा सामान्य वर्षामा समेत यो खण्डमा यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। (रासस)
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया