काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहार हुँदा दुई युवकको मृत्यु भएको छ। झापाका बासिन्दा र ललितपुरमा बसोबास गर्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङलाई हत्या गरिएको ललितपुर प्रहरीले जनाएको छ।
ललितपुर जिल्ला प्रहरी परिसरका एक अधिकारीका अनुसार हत्यामा संलग्न सञ्जीव नेपालीलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानले देखाएको छ कि सिर्जन नेम्वाङले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा फोन सञ्जीव नेपालीको नम्बरमा पुगेको थियो।
फोनमा भएको भनाभन पछि दुवै पक्षले भेटेर कुरा गर्ने सहमति गरे। बुधबार दिउँसो करिब ४ बजे पाटन दरबार क्षेत्रमा भेट हुँदा विवाद बढ्दै गएपछि सञ्जीव नेपालीले छुरा प्रहार गरेका थिए।
घाइते भएका दाजुभाइलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना भएको केही मिनेटभित्रै प्रहरीले संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया