काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई आजै रिहा गर्ने भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सर्वोच्च अदालतको आदेश र सरकारी वकिल कार्यालयको सहमतिमा दुवै जनालाई आज बिहीबार नै  हाजिर जमानीमा छाड्ने निर्णय भएको जानकारी दिए ।

advertisement

उनले भने, “हामी अब उहाँहरूको सबभन्दा नजिकको मानिसको जिम्मामा छाड्छौं ।”

प्रहरीले भदौ २३ गते भएको घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो ।

उनीहरूलाई चैत १४ गते भक्तपुरबाट पक्राउ गरिएको थियो ।

पक्राउपछि सुरुमा ५ दिन, त्यसपछि थप २ दिन र तेस्रो पटक थप ५ दिनको म्याद थपिएको थियो ।

उक्त म्याद चैत २५ गते राति सकिएसँगै आज उनीहरूलाई हिरासतमुक्त (आजै रिहा ) गर्ने निर्णय भएको हो ।

चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो ।

आदेशमा चैत २१ गतेदेखि लागू तेस्रो पटकको ५ दिने म्यादभित्र अनुसन्धान सम्पन्न गरी मुद्दा चल्ने वा नचल्ने निर्णय गर्नुपर्ने उल्लेख थियो ।

अनुसन्धान नसकिएमा म्याद सकिएपछि प्रक्रिया पूरा गरी हिरासतमुक्त गर्न र थप अनुसन्धान तहकिकात गर्न भनिएको थियो ।

सर्वोच्चले चार मुख्य आधारमा म्याद नथप्न आदेश दिएको थियो ।

पहिलो, सोही घटनामा पक्राउ परेका तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई भतिजाको जिम्मामा हाजिर जमानीमा छाडिएको तथ्य ।

दोस्रो, दुवै जनाको मातापिताको निधनपछि आसौच (शोक) मा रहेको अवस्था ।

तेस्रो, पूर्वप्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भई विशेष मेडिकल टिमको निगरानीमा उपचाररत रहेको अस्पतालको पत्र ।

चौथो, सरकारी वकिलले उनीहरूको बयान लिइसकेको कुरा ।

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि उनीहरूमाथि अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले विभिन्न चरणमा म्याद थप गरेको थियो ।

अब उनीहरूलाई हाजिर जमानीमा राखेर थप अनुसन्धान र तहकिकातको काम अघि बढाइने छ ।

यो निर्णयले भदौ २३ को घटनासँग जोडिएको ज्यानसम्बन्धी कसुरको अनुसन्धान प्रक्रिया नयाँ मोडमा पुगेको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com