काठमाडौं। लेबनानमा इजरायलले गरेको घातक हवाई आक्रमणपछि इरानले अमेरिका र इजरायलसँगको वार्ता तथा युद्धविराम को कुनै औचित्य नरहेको स्पष्ट पारेको छ ।
इरानका संसद् सभामुख मोहम्मद बागेर गालिबाफले बुधबार भएको लेबनान आक्रमणमा साढे दुई सयभन्दा बढी नागरिकको मृत्यु र एक हजार एक सयभन्दा बढी घाइते भएको घटनालाई औंल्याउँदै यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले युद्धविराम घोषणा भएकै दिन यस्तो हमला हुनुले थप वार्ता अघि बढाउनु उचित नहुने बताए ।
गालिबाफले अमेरिकाले सर्तविपरीत इरानलाई परमाणु कार्यक्रम त्याग्न दबाब दिएको पनि आरोप लगाएका छन् ।
उनको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ, “यस्तो परिस्थितिमा द्विपक्षीय वार्ता तथा युद्धविराम अघि बढाउनु उचित हुँदैन ।”
अमेरिका र इजरायल दुवैले लेबनानलाई युद्धविराममा समावेश नगरेको दाबी गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार नै युद्धविरामप्रति समर्थन जनाए पनि लेबनान यसमा नपर्ने र हिजबुल्लाहविरुद्धको आक्रमण जारी रहने बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लेबनान युद्धविराममा समेटिएको छैन भनेका छन् ।
उनले भने, “लेबनानमा भइरहेको अर्कै विषय हो । त्यो युद्धविराममा समावेश छैन ।”
उपराष्ट्रपति जेडी भान्सले पनि बुडापेस्टमा पत्रकारहरूसँग कुरा गर्दै इरानले गलत बुझेको र लेबनान युद्धविराममा नपर्ने स्पष्ट पारेका छन् ।
ट्रम्पले इरान युरेनियम समृद्धिकरण रोक्न सहमत भएको दाबी गर्दै आफूहरूले इरानको गहिरो परमाणु सामग्री निकालेर हटाउने बताएका छन् ।
तर इरानका सभामुख गालिबाफले युरेनियम समृद्धिकरण जारी राख्ने अनुमति रहेको दाबी गरेका छन् ।
ट्रम्पले सहमति जनाएको भनिएको १० बुँदे सर्तमा पनि युरेनियम समृद्धिबारे कुनै उल्लेख नभएको भन्दै इरानले मूल विवाद अझै समाधान नभएको बताएको छ ।
लेबनानमा भएको आक्रमणपछि इरानले हर्मुज जलडमरुमा अवरोध कायम राखेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय कम्पनीका जहाजहरू युद्धविरामबारे स्पष्ट नभएकाले तत्काल जलमार्ग प्रयोग नगर्ने मनस्थितिमा रहेका छन् ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले इजरायल जुनसुकै बेला युद्धमा फर्किन तयार रहेको चेतावनी दिएका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले लेबनानमा इजरायलको आक्रमणको कडा निन्दा गर्दै लेबनानलाई पनि युद्धविराममा समेटिनुपर्ने बताएका छन् ।
यता, युद्धविरामको मुख्य मध्यस्थकर्ता पाकिस्तानले शुक्रबार इस्लामावादमा थप छलफलका लागि निम्तो दिएको छ ।
तर पछिल्ला घटनाक्रमले संवाद प्रक्रिया अघि बढ्नेमा गम्भीर शंका उत्पन्न भएको छ ।
यो घटनाक्रमले मध्यपूर्व क्षेत्रमा शान्ति प्रक्रिया थप जटिल बन्दै गएको देखिएको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया