काठमाडौं। नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेड ग्राहकहरूलाई ठूलो राहत दिँदै ‘पे–जी’ सुविधा सक्रिय वा निष्क्रिय गर्ने पूर्ण अधिकार ग्राहक आफैंलाई दिने व्यवस्था गरेको छ ।

प्याकेज खरिद गरेर डेटा प्रयोग गरिरहेका ग्राहकले प्याकेज सकिएपछि पनि सेवा निरन्तर चल्ने वा बन्द गर्ने भन्ने छनोट गर्न पाउने ‘पे–जी’ सुविधा लाई अब आफ्नो इच्छाअनुसार नियन्त्रण गर्न सकिने भएको हो ।

advertisement

यसअघि यो सुविधा स्वतः सक्रिय रहने व्यवस्था थियो जसले गर्दा प्याकेज सकिएपछि अनिच्छित रूपमा मुख्य ब्यालेन्सबाट डेटा चल्ने समस्या थियो ।

नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले बताएअनुसार अब ग्राहकले आफ्नो मोबाइलबाट सिधै ८४४४३ डायल गर्नुपर्नेछ ।

त्यसपछि ४ अङ्क छनोट गरेर क्रमशः १ डायल गर्दा ‘पे–जी’ सक्रिय, २ डायल गर्दा निष्क्रिय र ३ डायल गर्दा सुविधाको अवस्था थाहा पाउन सकिनेछ ।

‘पे–जी’ सुविधा निष्क्रिय गरेका ग्राहकले प्याकेज सकिएपछि मुख्य ब्यालेन्सबाट डेटा चल्ने छैन ।

तर सुविधा सक्रिय राखेका ग्राहकले प्याकेज सकिए पनि डेटा सेवा निरन्तर प्रयोग गर्न सक्नेछन् ।

जसलाई प्याकेज नै नलिई डेटा चलाउनु पर्छ, उनीहरूले यो सुविधा सधैं सक्रिय राख्नुपर्ने हुन्छ ।

यो व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाको बुँदा नम्बर ४ अनुसार नै गरिएको हो ।

मन्त्रालयले ‘निष्क्रिय गर्ने विकल्प दिइने’ निर्देशन दिएपछि टेलिकमले उक्त सुविधा कार्यान्वयन गरेको प्रवक्ता मानन्धरले जानकारी दिए ।

आगामी दिनमा नेपाल टेलिकम एपबाट पनि यो ‘पे–जी’ सुविधा सजिलै सक्रिय वा निष्क्रिय गर्न सकिने व्यवस्था गरिने कम्पनीले जनाएको छ ।

यसैगरी, अब डेटा प्याकेजको ९० प्रतिशत भोल्युम खपत भएपछि ग्राहकलाई एसएमएस मार्फत जानकारी पठाइने भएको छ ।

यसअघि ८० प्रतिशत खपत, भोल्युम सकिएपछि वा प्याकेजको समय सकिएपछि मात्र सूचना दिने व्यवस्था थियो ।

नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड ग्राहकहरूको मागअनुसार विभिन्न प्रकारका डेटा प्याकेज उपलब्ध गराउँदै आएको छ ।

नयाँ व्यवस्थाले ग्राहकलाई आफ्नो डेटा प्रयोगमा पूर्ण नियन्त्रण दिने र अनावश्यक शुल्क कटौतीबाट बचाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com