काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने कुनै आधार र प्रमाण नभेटिएकाले रिहा भएको स्पष्ट पारेका छन् ।
बिहीबार हिरासतबाट छुटेपछि उनले सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाए । तर प्रमाण अभावमा मुद्दा चलाउन नसकिएपछि आफू रिहा भएको बताएका छन् ।
ओलीले हिरासतमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र त्रिवि शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् । उनले रिहाइको माग गर्दा चर्को दमनमा परेर घाइते भएका प्रदर्शनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गरेका छन् । राज्यले उपचार खर्च नबेहोरे पार्टीले नै बेहोर्ने बताएका छन् ।
रिहाइपछि प्रतिकूल स्वास्थ्य अवस्थाका कारण ओलीले केही दिन अस्पतालमै बसेर उपचार गराउने पनि जानकारी दिएका छन् ।
यो घटनाक्रमले भदौ २३ गतेको घटनासँग जोडिएको ज्यानसम्बन्धी कसुरको अनुसन्धान प्रक्रिया नयाँ मोडमा पुगेको छ । ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखक पनि हाजिर जमानीमा रिहा भएका थिए ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया