काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलब र राम्रो अवसर देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बझाङ घर भई ललितपुर बस्ने २१ वर्षीय नरेन्द्र बहादुर धमेना, कैलाली घर भई ललितपुर बस्ने २७ वर्षीया दर्शना भण्डारी र रौतहट घर भई भक्तपुर बस्ने ५० वर्षीय राजु प्रसाद कुसवाहा रहेका छन् ।
प्रहरीका अनुसार नरेन्द्र धमेनाले बुल्गेरिया पठाइदिने प्रलोभन देखाएर तीन जना पीडितबाट ४ लाख रुपैयाँ ठगी गरेका थिए ।
दर्शना भण्डारीले ग्रीस पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख रुपैयाँ असुलेकी थिइन् ।
त्यस्तै, राजु प्रसाद कुसवाहाले बेलायत पठाउने बहानामा एक जनाबाट ४५ लाख १६ हजार ८९१ रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका थिए ।
पीडितहरूले ठगी भएको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
नरेन्द्रलाई मंगलबार काठमाडौंको भोटेबहालबाट, दर्शनालाई बुधबार ललितपुरको महालक्ष्मीबाट र राजु प्रसादलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यो घटनाले वैदेशिक रोजगारीको नाममा लाखौं रुपैयाँ ठगी गर्ने गिरोह अझै सक्रिय रहेको देखाएको छ ।
प्रहरीले यस्ता ठगीका घटनामा सचेत रहन र उजुरी दिन नागरिकलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया