काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा प्रधानमन्त्रीले साहलाई पदमुक्त गरेका हुन्।

यसअघि रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहलाई हटाउन प्रधानमन्त्रीलाई औपचारिक पत्र पठाएका थिए। पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनअनुसार मन्त्री साहले पदमा रहँदा पदीय मर्यादा विपरीत आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गराएको आरोप पत्रमा उल्लेख गरिएको छ। यस्तो कार्यले पार्टीको छवि, सिद्धान्त र मर्यादामा नकारात्मक असर पर्ने ठहर गरिएको छ।

advertisement

पत्रमा पार्टी विधानअनुसार सभापतिलाई पार्टीको आदर्श र मर्यादा जोगाउने जिम्मेवारी रहेको र पदको दुरुपयोग भएको अवस्थामा ‘राइट टु रिकोल’ प्रयोग गरी जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने प्रावधान रहेको उल्लेख गर्दै मन्त्री साहलाई पदमुक्त गर्न सिफारिस गरिएको थियो। साथै, यस विषयमा अपेक्षित संवेदनशीलता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन पनि सुझाव दिइएको छ।

मन्त्री साहसँग सम्बन्धित विवाद सार्वजनिक हुँदै गएपछि प्रधानमन्त्री शाहले रास्वपाका शीर्ष नेताहरूसँग छलफल अघि बढाएका थिए। मन्त्री नियुक्त भएको केही समयमै उनले आफ्नी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्त गराएको विषय बाहिरिएपछि प्रधानमन्त्री असन्तुष्ट बनेका थिए।

महोत्तरी–२ बाट निर्वाचित सांसद समेत रहेका साहलाई पदमुक्त गरिएसँगै अब मन्त्रिपरिषद् पुनर्संरचना गर्ने विषयमा बालुवाटारमा आन्तरिक छलफल जारी रहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com