काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासहित भन्सारका उच्च अधिकारी तथा कर्मचारीहरूविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्युतीय सिगरेट (भेप) भित्र सुन लुकाएर तस्करी गर्ने गिरोहसँग मिलेमतो गरी अर्बौं रुपैयाँको राजस्व चुहावट गरेको र प्रमाण नष्ट गरेको आरोपमा आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारको अनुसन्धान अनुसार २०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’ को उडान मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले दुई वटा सुटकेसमा ७३ वटा बट्टाभित्र ७३० थान भेप ल्याएका थिए । ती भेपभित्र ठूलो परिमाणमा सुन लुकाइएको थियो ।
भन्सार जाँचका क्रममा एक्स–रे स्क्रिनरले शङ्कास्पद देखेपछि सामान रेड च्यानलमा पठाएका थिए । तर भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठलगायतका कर्मचारीले सुन भएको थाहा हुँदाहुँदै भौतिक जाँच नगरी जफत गर्ने निर्णय गरे । पछि अनुकूल समयमा सामान सट्टापट्टा गरी तस्करी गर्ने योजना बनाएको अख्तियारको आरोप छ ।
मुद्दामा पूर्वसभामुख महरा, भन्सारका उच्च अधिकारी तथा कर्मचारीहरूसँगै सुन तस्करी र सम्पत्ति शुद्धीकरणमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
यो मुद्दा ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा रहेको संगठित भ्रष्टाचार र तस्करी नेटवर्कलाई उजागर गरेको छ । विशेष अदालतले अब यस मुद्दाको थप सुनुवाइ अघि बढाउने छ ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया