काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आग्रहमा नै आफूहरूले उपसभामुख पदमा मनोनयन दर्ता गराएको दाबी गरेका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले प्रतिपक्षी दलहरूबीचको सहमति र लामिछानेको प्रत्यक्ष टेलिफोन संवादपछि राप्रपाले उम्मेदवारी दिएको बताएका हुन्।
‘रास्वपाका सभापतिज्यूले स्वयं फोन गरेर हामीलाई मनोनयन दर्ता गराउन भन्नुभएको हो,’ शाहीले भने, ‘सबै प्रतिपक्ष एक भएपछि हामीले दर्ता गराएका हौं।’
रास्वपाले अन्तिम समयमा आएर धोका दिएको हो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा शाहीले अहिल्यै त्यसरी टिप्पणी गर्न नमिल्ने बताए।
राजनीतिमा तलमाथि भइरहने बताउँदै उनले यदि रास्वपाले अर्कै निर्णय गरेको हो भने आफैं उम्मेदवारी दिन लगाउने लामिछानेलाई नै यस विषयमा प्रश्न गर्नुपर्ने बताए। अन्य दलहरूसँग पनि छलफल गरेरै राप्रपा अगाडि बढेको उनको भनाइ छ।
यता, राप्रपालाई उम्मेदवारी दिन लगाएको भनिएको रास्वपाले भने उपसभामुखमा अर्कै दललाई समर्थन गर्ने भएको छ। रास्वपाका प्रवक्ता मनिष झाले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिएका छन्।
प्रवक्ता झाका अनुसार सांसद ठाकुरको उम्मेदवारीको समर्थकमा रास्वपाका सांसद अशोक कुमार चौधरी रहने तय भएको छ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया