काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि औपचारिक रूपमा अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३(२) बमोजिम उक्त निर्णय गरिएको हो। कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका हुन्।
यससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुनेछ। सरकारले हिउँदे अधिवेशन अन्त्य गर्दै आगामी बजेट अधिवेशनको तयारीका लागि यस्तो सिफारिस गरेको जनाएको छ।
संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया