काठमाडौं। कोभिड-१९ को अत्यधिक उत्परिवर्तित नयाँ भेरियन्ट ‘सिकाडा’ (बिए. ३.२) हाल विश्वका २३ मुलुकमा फैलिएको छ ।
विश्व स्वास्थ्य संगठनले यसलाई उच्च निगरानीमा राखेको छ ।
सन् २०२४ को नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरियन्ट लामो समयसम्म सुप्त अवस्थामा रहेर हालैका महिनाहरूमा अमेरिका, बेलायत र हङकङ जस्ता देशहरूमा तीव्र रूपमा फैलिन थालेको हो ।
किरा जस्तै लामो समय ‘अन्डरग्राउन्ड’ बसेर अचानक सक्रिय भएकाले यसलाई ‘सिकाडा’ नाम दिइएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले यसलाई ओमिक्रोन भन्दा निकै फरक र अत्यधिक उत्परिवर्तित भेरियन्टको रूपमा परिभाषित गरेको छ ।
यो भाइरस शरीरको प्रतिरोधात्मक प्रणालीलाई छल्न बढी सक्षम देखिएको छ ।
यस भेरियन्टको सबैभन्दा उल्लेखनीय पक्ष भनेको वयस्कको तुलनामा बालबालिकाहरू बढी संक्रमित भएको हो ।
न्युयोर्कका अध्ययन अनुसार बालबालिकाहरूमा कोभिड परीक्षण सकारात्मक दर उच्च देखिएको छ ।
बालबालिकाको प्रतिरोधात्मक क्षमता अझै परिपक्व नभएको र विगतमा धेरै भाइरससँग लड्ने अनुभव कम भएकाले उनीहरू बढी संवेदनशील भएको विज्ञहरूले बताएका छन् ।
यद्यपि, हालसम्म यो भेरियन्टले अन्य भेरियन्टभन्दा बढी बिरामी बनाउने, अस्पताल भर्ना दर बढाउने वा मृत्युदर बढाउने कुनै ठोस प्रमाण फेला परेको छैन ।
यसका लक्षणहरू अन्य कोभिड भेरियन्ट जस्तै ज्वरो, खोकी, घाँटी दुख्ने, थकान र सास फेर्न गाह्रो हुने रहेका छन् ।
विज्ञहरूका अनुसार भाइरसले उही कोषिकालाई लक्षित गर्ने भएकाले लक्षणमा ठूलो भिन्नता देखिएको छैन ।
विश्व स्वास्थ्य संगठनले यसबाट सार्वजनिक स्वास्थ्यमा हुने जोखिम अझै न्यून रहेको बताएको छ ।
कोभिड-१९ अब सामान्य रुघाखोकी जस्तै जनजीवनको हिस्सा बनिसकेकाले अत्यधिक आत्तिनुपर्ने अवस्था नरहेको सुझाव दिइएको छ ।
हाल उपलब्ध खोपहरूले संक्रमणको गम्भीरतालाई कम गर्न अझै प्रभावकारी रहेको छ ।
विशेषगरी ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, कमजोर प्रतिरोधात्मक क्षमता भएका र दीर्घरोगीहरूले थप सावधानी अपनाउनुपर्ने हुन्छ ।
बालबालिकाहरूमा मुटु वा फोक्सोको पुरानो समस्या भए संक्रमण शंका लाग्ने बित्तिकै चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।
सामान्य स्वस्थ बच्चाहरूका लागि भने यो भेरियन्ट खासै हानिकारक नदेखिएको चिकित्सकहरूको भनाइ छ ।
मास्कको प्रयोग, भीडभाडबाट बच्ने र नियमित हात धुने जस्ता स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञहरूले आग्रह गरेका छन् ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया