काठमाडाैं । सुधन गुरुङ ले गत वर्षको बाढीपहिरोबाट प्रभावित बीपी राजमार्गअन्तर्गत रोशी क्षेत्र मा अनुगमन गरेका छन्। पनौतीस्थित प्रभावित क्षेत्रको निरीक्षणका क्रममा उनले मापदण्ड विपरीत सञ्चालन भइरहेका सबै क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका हुन्।
अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले गिट्टी, बालुवा तथा ढुंगाको अवैध उत्खननले बाढीपहिरोको जोखिम उल्लेखनीय रूपमा बढाएको बताए। उनले विगतमा ठेक्कापट्टामा ‘सेटिङ’ गरेर अवैध गतिविधि सञ्चालन भएको उल्लेख गर्दै अब यस्ता कार्य कडाइका साथ नियन्त्रण गरिने र वैध–अवैध सबै खानी तथा क्रसर उद्योगको छानबिन गरिने स्पष्ट पारे।

प्राकृतिक स्रोतको अनियन्त्रित दोहन रोक्न सम्बन्धित निकायले प्रभावकारी पहल नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यसले ठूलो जनधनको क्षति निम्त्याएको बताए। गत वर्ष पनौती क्षेत्रमा आएको बाढीपहिरोमा २० जनाको ज्यान गएको, एक जना बेपत्ता भएको र सयौँ घरमा क्षति पुगेको तथ्यांक छ।

साथै, उनले भविष्यमा सम्भावित विपत्तिको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएका छन्।
उक्त क्षेत्रमा २०८१ असोज १० देखि १२ गतेसम्म परेको अत्यधिक वर्षाले २४ घन्टामा ३३१.६ मिलिमिटर वर्षा मापन भई नयाँ रेकर्ड कायम भएको थियो। यसले रोशी नदी आसपासका तटीय क्षेत्र, विशेषगरी भूमिडाँडादेखि नेपालथोकसम्म, व्यापक क्षति पुर्याएको थियो।
स्थानीयवासीका अनुसार प्राकृतिक कारणसँगै अवैध खानी तथा क्रसर उद्योगहरूले पनि विनाशलाई थप बढावा दिएका छन्। नदी किनारमै गिट्टी–बालुवा थुपार्ने, खानीबाट निस्किएको माटो र धूलो सिधै खोलामा फाल्ने जस्ता गतिविधिले नदीको बहाव अवरुद्ध भई बाढीको प्रभाव झन् तीव्र बनेको देखिएको छ।

अध्ययनअनुसार काभ्रेपलाञ्चोक जिल्लाभरि दर्जनौँ खानी तथा क्रसर उद्योग सञ्चालनमा छन्, जसमा धेरैजसो अवैध वा मापदण्डविपरीत रहेको पाइएको छ। विशेषगरी पनौती र रोशी क्षेत्रमा यस्ता उद्योगको घनत्व उच्च रहेको र कानुनी तथा वातावरणीय मापदण्डको पालना कमजोर रहेको निष्कर्ष निकालिएको छ।
समग्रमा, रोशी नदी र पनौती क्षेत्रमा अनियन्त्रित खानी सञ्चालनले वातावरणीय सन्तुलन बिगार्दै बाढी–पहिरोको जोखिम र क्षति दुवै बढाएको देखिएको छ। सरकारले अब यसतर्फ कडा कदम चाल्ने संकेत दिएको छ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया