काठमाडौं । सडक डिभिजन कार्यालय भरतपुरले सम्झौताअनुसार काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीलाई ठेक्का सम्झौता रद्द गर्ने चेतावनीसहित सात दिने अन्तिम अल्टिमेटम दिएको छ।
सडक डिभिजन कार्यालय ले शुक्रबार सूचना जारी गर्दै निर्माण कार्य सुरु गरे पनि बिना कारण बीचमै रोकेर अलपत्र छोडेको, कार्यतालिकाअनुसार प्रगति नगरेको तथा तोकिएको समयसीमाभित्र काम नसकिएको भन्दै सम्बन्धित कम्पनीसँग स्पष्टीकरण माग गरेको जनाएको छ।
कारबाहीको दायरामा परेका कम्पनीमध्ये परासी निर्माण सेवा प्रालि ले नवलपुरको देवचुली–१३ क्षेत्रमा पर्ने हुलाकी राजमार्ग अन्तर्गत केउरानी–बोटे–पिप्रहर–गैँडाकोट (थारु बोटे माझी मुसहर कोरिडोर) तथा दलदले चोक हुँदै चितवन जोड्ने विपी मार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो।
त्यस्तै, डोलेप कन्स्ट्रक्सन ले चितवनका भरतपुर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका जोड्ने शक्तिखोर–सिद्धि इच्छाकामना सडक खण्ड अन्तर्गत कालिका–१० सिद्धि छेर्वाङ क्षेत्रका धिम्बेली भिर र जातबाङ भिरमा सडक स्तरोन्नतिको ठेक्का लिएको थियो।
तर, दुवै कम्पनीले सम्झौताअनुसार काम अघि नबढाएको भन्दै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ बमोजिम ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाउन सकिने जनाएको छ। साथै, ती कम्पनीलाई कालोसूचीमा राख्नेबारे पनि चेतावनी दिइएको छ।
सूचना प्रकाशन भएको मितिले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित निर्माण कार्य पुनः सुरु नगरेमा स्वतः ठेक्का सम्झौता रद्द गरी कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया