काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जेनजी आन्दोलनको प्रतिनिधित्व गर्ने उद्देश्यले आफ्नी पार्टीकी सांसद रूबीकुमारी ठाकुर लाई उपसभामुख पदको उम्मेदवार बनाइएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै उनले भने, ‘हाम्रा उम्मेदवार जेनजी पुस्ताका प्रतिनिधि हुन्। अहिलेको राजनीतिक परिस्थिति जेनजी आन्दोलनकै परिणाम भएकाले उहाँलाई उम्मेदवार बनाएका हौँ।’
हर्कराज राईले जनताबाट निर्वाचित प्रतिनिधिहरूलाई होच्याउने वा अपमानजनक भाषाको प्रयोग नगर्न सांसदहरूलाई आग्रह पनि गरे।
उनले केही सांसदहरूले ‘रूबी बहिनी’ भनेर सम्बोधन गरेकोप्रति आपत्ति जनाउँदै उक्त शब्द अभिलेखबाट हटाउन माग गरे। साथै, ज्येष्ठ नागरिकलाई अपमान गर्ने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गर्दै संसद्मा मर्यादित र सम्मानजनक व्यवहार कायम हुनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया